Skip to main content

धनगढीमा खोजीखोजी अपाङ्गता सहायता सामग्री वितरण, ४८८ जनालाई निःशुल्क सामग्री

Submitted by editor on
ईबिगुल संवाददाता
अपाङ्गता भएका व्यक्ति

धनगढीः  धनगढी उपमहानगरपालिकाले लगातार तेस्रो वर्ष अपाङ्गता भएका व्यक्तिहरूलाई खोजीखोजी सहायता सामग्री वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा सुरू गरिएको निःशुल्क सहायता सामग्री वितरण कार्यक्रमले २०८१÷८२ मा पनि निरन्तरता पाएको उपमहानगरले जनाएको छ । 

धनगढी उपमहानगरपालिकाले पाँच क्लस्टरमा विभाजन गरी मंसिर २३ देखि २७ गतेसम्म स्क्यानिङ क्याम्प सञ्चालन गरेको थियो । स्क्यानिङ क्याम्प क्रमशः वडा नम्बर १४ फूलबारी, वडा नम्बर १५ उर्मा, वडा नम्बर ९ सहित जुगेडा क्लस्टर, वडा नम्बर ६, ११ र १३ मा सञ्चालन भएको थियो ।

मंसिर २७ गते उपमहानगरपालिकाको प्राङ्गणमै अन्तिम क्याम्प गरिएको थियो । उक्त स्क्यानिङ क्याम्पमा १४३ जना सहभागी भएका थिए । जसमध्ये १२२ जनालाई सहायता सामग्रीका लागि स्क्यानिङ गरी विवरण संकलन गरिएको छ ।

उपमहानगरका अनुसार स्क्यानिङपछि आवश्यक विवरणका आधारमा उनीहरूलाई सामग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा १५० जना र २०८०÷८१ मा २१६ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको छ ।

तीन वर्षमा जम्मा ४८८ जनालाई निःशुल्क अपाङ्गता सहायता सामग्री वितरण गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउनका लागि यो कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।