Skip to main content

गर्मीले धानका ब्याड चिरा–चिरा

Submitted by editor on 2023-06-20, 19:03
ईबिगुल संवाददाता
2023-06-20, 19:03
धानका बिउ सुक्न थाले

परासीः खडेरीका कारण नवलपरासीका किसानले लगाएको धानका बिउ सुक्न थालेका छन्। अत्यधिक गर्मीसँगै परेको खडेरीले किसानले राखेको धानको ब्याड चिरा—चिरा पर्न थालेका हुन्।

यसले किसानलाई चिन्तित बनाएको छ। पानी नपरे पनि जिल्लाका अधिकांश किसानले धानको बिउ राखिसकेका कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्तोष चौधरीले बताए। पानी नपरेर चिन्तित बनेका किसानले पम्पसेटबाट सिँचाइ गरेर धानको बिउ राखेका हुन्। पानी नपरेकाले केही किसानले ब्याडमा पम्पसेटबाटै पानी लगाएका छन्। तर गर्मीसँगै परेको खडेरीले चापाकालसमेत सुक्न थालेपछि ब्याडमा पानी राख्न समस्या भएको चौधरीले सुनाए। ‘अधिकांश किसानले पम्पसेटबाटै सिँचाइ गर्दै आएका छन्। अहिले ५० प्रतिशतभन्दा बढी चापाकलमा पानी सुकिसक्यो। सिँचाइ गर्न नपाउँदा ब्याड चिराचिरा पर्न थालेका छन्।’ चौधरीले भने।

पाँच दिनदेखि परासी क्षेत्रको तापक्रम ४२ देखि ४३ डिग्रीसम्म पुगेको छ। जिल्लाको कुल ४१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ। विगतका वर्षहरूमा सामान्य पानी परेपछि जेठको अन्तिम साताबाट धान रोपाइँ सुरु हुने गरेको थियो। तर अहिले पानी पर्ने छाँट नदेखिएकाले यस वर्ष उक्त समयमा रोपाइँ सुरु हुन नसक्ने र धान उत्पादनमा समेत कमी आउन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।