Skip to main content

धनगढीका नगर बसको ‘लोकेशन’ घरबाटै हेर्न सकिने

Submitted by editor on
बसमा सुदूरपश्चिमका धार्मिकस्थल तथा सांस्कृतिक पहिचान झल्काउने पोस्टर र पेन्टिङ गरिएको छ । बसमा सांस्कृतिक पहिरन, नृत्य, पर्व र स्थानीय जातजातिका भेषभूषा झल्किने गरी पेन्टिङ गरिएको नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले बताईन ।
ईबिगुल संवाददाता
 नगरबस

धनगढी : धनगढीमा सञ्चालन हुने नगरबसको लोकेशन अब घरबाटै हेर्न सकिने भएको छ । धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्र जोडनका लागि नगर बस सञ्चालनको तयारी गरिरहेका बेला ती बसहरुमा ‘जिपिएस’ जडान भएपछि नगरबसको लोकेशन घरबाटै हेर्न सकिने भएको हो । उपमहानगरपालिकाले नगरको ग्रामीण भोगका बासिन्दालाई लक्षित गरी ६ वटा नगर खरिद गरि सञ्चालनको तयारी गरेको छ ।

नगर बसमा जिपिएस मात्रै होईन, महिला सुरक्षाका लागि भन्दै सिसिक्यामेरा समेत जडान गरिएको छ । बसभीत्र महिलामाथि हुने दुब्र्यवहार, यौन दुब्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन सहज होस भनेर यस्तो गरिएको नगर प्रमुख गोपाल हमालले बताए । 

‘यात्रु र तिनले बोक्ने सामानको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस्तै, बस आएको घरबाटै थाहा पाउन र चढ्ने स्थानमा ठिक समयमा पुग्न सहज होस् भनेर जिपिएस प्रणाली जडान गरिएको हो’ नगरप्रमुख हमालले भने ।

सम्भावित आगलागीबाट बच्न हरेक बसमा अग्नि नियन्त्रण यन्त्र राखिएको छ भने चालकलाई बस रोकाउन घण्टी बजाउन मिल्ने स्वीच राखिएको छ । नगर बसलाई वातावरणमैत्री बनाउन हरियो रङको पेन्टिङ गरिएको छ । 

बसमा सुदूरपश्चिमका धार्मिकस्थल तथा सांस्कृतिक पहिचान झल्काउने पोस्टर र पेन्टिङ गरिएको छ । बसमा सांस्कृतिक पहिरन, नृत्य, पर्व र स्थानीय जातजातिका भेषभूषा झल्किने गरी पेन्टिङ गरिएको नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले बताईन ।

बस सञ्चालनका लागि बोलपत्र आह्वान समेत भइसकेको छ । पहिलो चरणमा धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी बसपार्कबाट धनगढी सहिद गेटसम्म नगर बस सेवा सञ्चालन गर्ने योजना बनाइएको छ । फूलबारी–धनगढी–सहिद गेट रुटमा नगर बस सेवा सफल भए उर्मा लगायतका ग्रामीण भेगमा समेत नगर बस सेवा विस्तार गरिने नगरप्रमुख हमालले बताए ।

‘पहिलो चरणमा फूलबारी बसपार्कदेखि धनगढी सहिद गेटसम्म नगर बस चलाउन बोलपत्र आह्वान गरेका छौँ । ग्रामीण भेगलाई सहरसँग जोड्न र ग्रामीण जीवनलाई चलायमान बनाउन नगर बस सेवा चलाउन खोजेका छौँ’ नगर प्रमुख हमालले भने । ‘ग्रामीण क्षेत्रबाट विद्यालय, कलेज, अस्पताल र बजार आउन सहज होस् र गाउँमा उत्पादित बस्तु बजार ल्याउन सहज होस् भनेर नगर बस चलाउन खोजिएको हो ।’

विद्यालय र कलेज पढ्न आउने विद्यार्थीहरूले घरबाटै पढ्न आउन सहज होस् भनेर पनि नगर बस चलाइन लागेको मेयर हमालले बताए । यस्तै, गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म ल्याउन सहज होस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रबाट नगर बस सेवा चलाउने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख हमालले बताए ।

पहिलो चरणको बस सेवा सफल भए कैलालीको कैलारी गाउँपालिकादेखि गोदावरीको अत्तरियासम्म नगर बस चलाउने योजना रहेको उपमहानगरले जनाएको छ ।