Skip to main content

सेती लोकमार्ग ः ट्रयाक खोल्नमै बिते १४ वर्ष

Submitted by editor on
ईबिगुल संवाददाता
सेती लोकमार्ग ट्रयाक निर्माण हुँदै । तस्बीर ः परमानन्द पाण्डे

टीकापुर ः दक्षिणको छिमेकी भारत र उत्तरको चीनको ताक्लाकोट सीमा नाका जोड्ने त्रिदेशीय महत्वको सेती लोकमार्गको चर्चा २०४२ सालमा शुरु भयो । सुदूरपश्चिम घर भएका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पहिलो पटक प्रधानमन्त्री हुँदा उत्तर–दक्षिण सीमा जोड्ने सेती लोकमार्गको आवधारणा ल्याए । 


चार पटकसम्म प्रधानमन्त्री भएका चन्दले अघि सारेको सेती लोकमार्गको अवधारणा लामो समय चर्चामै सीमित बन्यो । चन्द २०३९, २०४६, २०५३ र २०५८ गरी चारपटक प्रधानमन्त्री बने । चन्दलाई समेत उछिन्दै सुदूरपश्चिमबाटै शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बने । २०५१, २०५७, २०६१, ०७३ र ०७७ गरी पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाकै कार्यकालमा समेत सेती लोकमार्गले गति लिन सकेन । 
चन्दले अघि सारेको सेती लोकमार्गको अवधारणा २४ वर्षपछि अर्थात् २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा समेट्यो । आर्थिक वर्ष २०६६÷०६७ यता सेती लोकमार्ग सरकारको नीति तथा कार्यक्रममा छुटेको छैन । तथापि सेती लोकमार्ग निर्माण शुरु भएको झण्डै १४ वर्ष ट्रयाक खोल्नमै सीमित छ ।  


कैलालीको टीकापुरदेखि बझाङको उरै भञ्ज्याङ हुदै तिब्बतको (ताक्लाकोट) सीमा नाकासम्म ३ शय ५९ किलोमिटर लामो सेती लोकमार्गको हालसम्म १ शय ८७ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले उत्तरी र दक्षिणी खण्ड गरी दुई वटा योजना कार्यालय स्थापना गरेको छ । दक्षिणी खण्डका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै योजना कार्यालय राखिएका छन । 


टीकापुरदेखि चैनपुरसम्म दक्षिणी खण्डमा पर्ने २ शय ४२ किलोमिटर मध्ये १ शय ४७ किलोमिटर र चैनपुरदेखि ताक्लाकोटसम्म उत्तरी खण्डमा पर्ने १ शय १७ किलोमिटर मध्ये ४० किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । 


सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय साँफेबगरका सूचना अधिकारी इञ्जिनियर केशव मिश्रले दिएको जानकारी अनुसार दक्षिणी खण्डमा पर्ने टीकापुरदेखि बौनियाँसम्म १५ किलोमिटर, बौनियाँदेखि ठूलीगाडसम्म ३७ किलोमिटर ट्रयाक खोलिएको छ । 


त्यस्तै अछामको सेती र बुढीगंगा दोभानदेखि साँफेबगरसम्म २४ किलोमिटर र साँफेबगर–घुघुरकोट–बिडासैनसम्म ३३ किलोमिटर ट्रयाक खोलिएको छ । दक्षिणी खण्ड अन्तर्गत पर्ने बझाङको रानागाउँदेखि तमेल हुँदै चैनपुरसम्म ३८ किलोमिटर सडकको ट्«याक खोलिएको  छ । दक्षिणी खण्डमा पर्ने बौनियाँदेखि ठूलीगाडसम्म २० किलोमिटर, डोटीको ठूलीगाडदेखि सेती–बुढीगंगा दोभानसम्मको ४० किलोमिटर अझै ट्रयाक खोल्न बाँकी छ । 

दक्षिणी खण्ड अन्तर्गत पर्ने बझाङको रानागाउँदेखि तमेल हुँदै चैनपुरसम्म ३८ किलोमिटर सडकको ट्«याक खोलिएको  छ । दक्षिणी खण्डमा पर्ने बौनियाँदेखि ठूलीगाडसम्म २० किलोमिटर, डोटीको ठूलीगाडदेखि सेती–बुढीगंगा दोभानसम्मको ४० किलोमिटर अझै ट्रयाक खोल्न बाँकी छ । 


त्यस्तै अछामको सेती बुढीगंगा दोभानदेखि साँफेबगरसम्म ८ किलोमिटर, घुघुरकोट–बिडासैनसम्मको १५ किलोमिटर र बाजुरामा पर्ने बिडासैनदेखि रानागाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । 


सेती लोकमार्ग उत्तरी खण्ड सडक डिभिजन कार्यालय चैनपुरका सूचना अधिकारी इञ्जिनियर पंखसिंह धामीले दिएको जानकारी अनुसार बझाङको चैनपुरदेखि उरै भञ्ज्याङ ताक्लाकोटसम्म पर्ने १ शय १७ किलोमिटर उत्तरी खण्ड मध्ये चैनपुरदेखि पाल्ती भीरसम्म ४० किलोमिटर ट्रयाक खोलिएको छ । सो खण्डको ७७ किलोमिटर ट्रयाक खोल्न अझै बाँकी छ । 


कैलालीको मोहन्यालका ७१ वर्षीय प्रजे मगरले सेती लोकमार्गको चर्चा सुनेको वर्षौं भएको बताए । उमेर ढल्किनै लाग्दा समेत लोकमार्गको ट्रयाक समेत नखोलेपछि सडक चुनावी नारा मात्रै भएझैं लागेको छ । ‘हामी जवान हुँदै यो सडकको चर्चा सुनेका हौं, अहिलेसम्म ट्रयाक समेत खुलेको छैन’ निराश हुँदै उनले भने । ‘यो सडक नेताहरुको चुनावी एजेण्डा मात्रै हो कि जस्तो लाग्छ ।’
कैलाली र डोटी जिल्लाको पूर्वी भाग, अछाम, बाजुरा र बझाङ जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य लोकमार्गसँग जोडिएका छन् । विशेषतः हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न सेती लोकमार्ग पश्चिमभरीमा सबैभन्दा छोटो र कम लागत लाग्ने महत्वपूर्ण आयोजना हो । 


मान्यता अनुसार कैलाश मानसरोवर जान भारतको नैमिसारण्डदेखि शुरु गर्नुपर्छ । सेती लोकमार्गले नैमिसारण्डदेखि भारतको तिकुनियाँ हुँदै टीकापुर, डोटीको पूर्वी भाग, अछामको बैद्यधान धाम, बझाङको खप्तड हुँदै ताक्लाकोटबाट कैशाल मानसरोवर जान सकिन्छ । 
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर जनकराज शाह सेती लोकमार्ग सुदूरपश्चिमको आर्थिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले लाइफलाइन भएको बताउँछन् । ‘कैलालीको पूर्वी भाग, यातायात सुविधाबाट वञ्चित रहेको डोटीको पूर्वी क्षेत्र, अछामको बैद्यनाथ धाम, बाजुरा र बझाङको खप्तड हुँदै उरै भञ्ज्याङ्गसम्म जोड्ने यो सडक दुरी र लागतका हिसाबले धेरै सहज आयोजना हो’ डा. शाहले भने ।
उनले उत्तर–दक्षिण जोड्ने यो सडक आर्थिक रणनीतिक मार्ग मात्रै नभएर सुदूरपश्चिमको लाइफलाइन भएको बताए । ‘यसले यहाँको जनजीवन एउटा स्तरमा पु¥याउने छ’ डा. शाहले भने । उनी राष्ट्रिय योजना आयोगको सदस्य हुँदा निर्माण शुरु भएको यो सडकको प्रगति सुस्त रहेकोमा उनले दुख ब्यक्त गरे ।


आयोजनाको काम सुस्त हुन थालेपछि अछाम क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले बैशाख ५ गतेको प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराए । ‘भारतको उत्तर प्रदेशको १८ करोड जनसंख्याको १० प्रतिशत मात्रै पर्यटक मानसरोवरसम्म यही मार्ग भएर ल्याउन सकिने विश्वासका साथ शुरु गरिएको आयोजना हो’ सांसद कुँवरले भने । ‘सुदूरपश्चिमको पर्यटन विकास, पहाडी जिल्लाहरुको बसाइँसराई रोक्न र यहाँको आर्थिक रुपान्तरणका लागि सेती लोकमार्ग महत्वपूर्ण छ । यसमा कुनै प्रकारको बाहनाबाजी, आलटाल हाम्रा लागि सैह्य हुने छैन ।’


पटक–पटक ध्यानाकर्षण गराउँदा समेत अन्तर मन्त्रालय समन्वयको अभावमा आयोजना निर्माणमा ढिलाई भइरहेको उनले बताए । ‘चार वर्षसम्म वन मन्त्रालयका कारण रुख कटान गर्नुपर्ने कैलाली र डोटीमा वातावरणीय प्रभाव मुल्यांकन नै हुन सकेन’ पूर्व मन्त्री समेत रहेका कँुवरले भने । ‘अहिले कामले केही गति लिएको छ । कैलालीमा रुख कटान शुरु हुँदैछ, डोटीमा छपान कार्यको अनुमति आएको छ ।’

त्यस्तै अछामको सेती बुढीगंगा दोभानदेखि साँफेबगरसम्म ८ किलोमिटर, घुघुरकोट–बिडासैनसम्मको १५ किलोमिटर र बाजुरामा पर्ने बिडासैनदेखि रानागाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । 


हाल धनगढीबाट साँफेबजर पुग्न २ शय ७० किलोमिटरमा कम्तीमा दश घण्टा समय लाग्छ । टीकापुरदेखि सेती लोकमार्ग हुँदै साँफेबगरसम्मको दुरी १ शय ३५ किलोमिटर अवथा ठ्याक्कै आधा छ । सेती लोकमार्ग निर्माण भए ३ घण्टामै साँफेबगर पुग्न सकिने कुँवरले बताए । ‘यसले ढुवानीको लागत समेत कम हुन जान्छ भने साँफेबगर पुग्ने समयमा बझाङको चैनपुरसम्म सजिलै पुग्न सकिन्छ ।’


बझाङको चैनपुरदेखि ताक्लाकोटसम्म पर्ने उत्तरी खण्डको निर्माण आर्थिक वर्ष २०८४÷०८५ मा सम्पन्न गर्ने लक्ष्य रहेको उत्तरी खण्ड आयोजना प्रमुख तुलाराम शर्माले बताए । ‘कडा चट्टान भएर ब्लास्ट गर्नुपर्ने हुँदा निर्माणमा केही ढिलो भए पनि निर्धारित समयमै आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको छ’ शर्माले भने । ‘कुल १ शय १७ किलोमिटर ट्रयाकमध्ये ४० किलोमिटर भन्दा बढी ट्रयाक खोलिसकेका छौं ।’ 


यता, बझाङको चैनपुरदेखि टीकापुरसम्म हेर्ने सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय साँफेबगरका योजना प्रमुख रमेश भट्टराईले वन मन्त्रालयले रुख कटान आदेश दिनमै समय खर्चिएको बताए । ‘चार वर्षसम्म रुख कटानका लागि वातावरणीय प्रभाव मुल्यांकन नै हुन सकेन’ उनले भने । ‘अहिले कैलालीमा रुख कटान शुरु भएको छ भने डोटीमा छपानको कार्य भइरहेको छ ।’
कैलालीको धनगढीस्थित त्रिनगर नाकाको विकल्पका रुपमा भारतीय तिकुनियाँ हुँदै खक्रौला नाकालाई उत्तरी सीमावर्ती चीनसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सेती लोकमार्ग निर्माणमा ध्यान दिन जरुरी छ । त्रिदेशीय नाकाबाट हुनसक्ने व्यापार, सुदूरपश्चिमको पर्यटन विकास, आर्थिक रुपान्तरण र देशकै लागि चिन्ताको विषय बनेको पहाडी जिल्लाको बसाइँसराई नियन्त्रणका लागि यो आयोजना कोशेढुंगा सावित हुनेछ ।