Skip to main content

अस्पताल बनाउने भन्दै झुक्याएर बनेको चर्चलाई उपमहानगरको २४ घण्टे स्पष्टिकरण

Submitted by editor on
ईबिगुल संवाददाता
चर्चलाई धनगढी उपमहानगरले २४ घण्टे स्पष्टिकरण

धनगढी : धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चलाई धनगढी उपमहानगरले २४ घण्टे स्पष्टिकरण सोधेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मनेहरामा स्थानीयलाई अस्पताल खोल्ने भन्दै सहमति गराएर  लेट मेइन धनगढी प्रालिले चर्च सञ्चालन गरेको थियो ।

धनगढी उपमहानगरपालिकाले लेट मेइन धनगढी प्रालिलाई २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेको छ । अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरेको जानकारीमा आएकाले सो बारे वास्तविक तथ्य के हो ? २४ घण्टाभीत्र त्यसको लिखित जवाफ पेश गर्न लेट मेईनलाई प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले पत्र काटेका छन ।

उपमहानगरपालिकाले विभिन्न मिडियामा आएको समाचार तथा स्थानीयको समेत गुनासो आएकाले संस्था दर्ता भए÷ नभएको, भवनको नक्सा पास भए÷नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौता बमोजिम कार्यक्रम  भए÷ नभएको लगायतका प्रमाण माग गरेको छ । 

लेट मेइन धनगढी प्रालि नामक संस्थाले जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन भाडामा लिएर अस्पताल निर्माण गर्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका हुन । वडा नम्बर ७ को कार्यालयबाछ सेमिनार र तालिम चलाउने भन्दै इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ । 

चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक समेत झिकाईएका छन । अहिले उक्त भवनमा ईसाई धर्मको धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ । छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान भवन बनाएर चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले विरोध गरेपछि उपमहानरले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

मोतिचोकका रणबहादुर बोहराले आर्थिक अवस्था र चेतनाको स्तर कमजोर भएका व्यक्तिलाई आर्थिक र स्वर्ग जाने प्रलोभन देखाएर धर्म परिवर्तन गर्न समुदायमा चर्च खोलिएकोले बन्द गर्नुपर्ने बताए ।

भवन बन्न लाग्दा छालाको अस्पताल बन्दैछ भनेर वडाअध्यक्ष मोति रानाले समेत झुठो बोलेको स्थानीय राजेन्द्र चन्दले गुनासो गरेका छन् । उनले भवन भन्दै गरेको देखेपछि काम गर्नेहरूले केही कुरा नबताएपछि वडामा बुझ्न जाँदा अध्यक्ष रानाले छालाको अस्पताल बन्ने लागेको भन्दै झुठो बोलेको बताए ।

पास्टर प्रशान्त राईले लेट मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको तर अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको बताए । कसैलाई कम्पनी कसैलाई छालाको अस्पताल स्थापना गर्ने भन्दै जनश्रमदानमा निर्माण गरिएको भवनमा नेपाल लाइफ वर्ड मिसनले धनगढी मण्डली नामक चर्चमा चहलपहल बढेपछि मात्रै स्थानीयले थाहा पाएका थिए ।