Skip to main content

जमिन साट्ने कुरामा प्रधानमन्त्री प्रचण्डले झुट बोल्नु भयो : रघुजी पन्त

Submitted by editor on
ईबिगुल संवाददाता
सांसद रघुजी पन्त

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग जमिन साट्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले झुट बोलेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिने अभिव्यक्ति दिनु आपत्तीजनक भएको बताए।

उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेर विकल्पको बारेमा छलफल भइरहेको बताएको भन्दै आक्रोश व्यक्त गरे। 

उनले भने,' प्रधानमन्त्रीले देश र संसदलाई ढाटनु भयो। यही संसदमा उभिएर भन्नु भएको थियो। लिम्पियाधुरा र कालापानी छोडेर जमिन साट्ने कुरा भएको छैन। मेरो मुखबाट निस्केकै छैन।  त्यो त केही विशेषज्ञहरूको भनाइ हो । मैले त चर्चा मात्रै गरेको हुँ। के सत्य त्यही हो। त्यसपछि तपाईंले नयाँ दिल्लीमा पत्रकार सम्मेलन राखे विकल्पको बारेमा  छलफल भएको छ भनेर भन्नु होइन । तर यहाँ विशेषज्ञको कुरा हो मैले उच्चारण समेत गरेको छैन भन्नु भयो।'

यो विषयलाई नेकपा एमालले गम्भीरताका साथ लिएको उनको भनाइ छ। स्पष्ट जवाफ नआए आन्दोलन गर्ने उनले चेतावनी समेत दिए। भने,' सभामुख यी विषयमा स्पष्ट जवाफ आओस्। नत्र भने हामीले यो विषयलाई गम्भीरका साथ अघि बढाउन थप चाइला चाल्नुपर्ने देखिन्छ।'