Skip to main content

मेडिकल विश्वविद्यालयका आन्दोलनकारी प्रहरीको घेरामा

Submitted by editor on
शिवराज भट्ट
प्रहरीको घेरामा आन्दोलनकारी

धनगढी  ः गेटामा मेडिकल विश्वविद्यालयको मागगर्दै सोमबार निर्माणस्थल पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले घेरा हालेको छ । गेटा मेडिकल कलेजका निर्देशक डाक्टर प्रमोदराज जोशीसँग कुराकानी गर्नका लागि निर्माणस्थलमा रहेको कार्यालय पुगेका संयोजक लोकराज पाण्डे, सह संयोजक आनन्द भट्ट, सचिव धर्मसिह कुवर सहितका आन्दोलनकारीहरुलाई ठुलोसंख्यामा गएको प्रहरीले घेरामा हालेको हो ।


उनीहरुले, गेटामा अस्पताल सञ्चालनको काम के भईरहेको छ ? त्यसको जानकारी लिन र अस्पताल सञ्चालनका लागि छलफल गर्न डाक्टर जोशीलाई बोलाएका थिए । तर डाक्टर जोशीले आफु असुरक्षित भएको भन्दै प्रहरी पठाएको आन्दोलनकारीको माग छ । डाक्टर जोशी यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला गेटा मेडिकल कलेजका निर्देशक नियुक्त भएका थिए । 


उनले यसअघि एक सय शैयाको अस्पताल सञ्चालन गर्ने भन्दै उपकरण खरिदको टेन्डर समेत प्रकासित गरेका थिए । त्यसको विरोध भएपछि उनले टेन्डर रद्ध गराएका थिए । मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय के बन्ने कुराका टुंगो नै नलागेका बेला कमिशनका लागि उपकरण खरिद गरि ‘डम्पिङ’ गर्न खोजिएको भन्दै त्यसको विरोध भएको थियो ।


नीति तथा कार्यक्रम र  बजेट बक्तब्यमा फरक÷फरक कुरा आएको भन्दै सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति एम महिना देखि आन्दोलनमा छ । संघर्ष समिति गेटामा मेडिकल विश्ववद्यालय बन्नुपर्ने भन्दै निरन्तर फरक फरक प्रकारको आन्दोलन गर्दै आएको छ । 


गत सोमबार प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले समेत गेटामा मेडिकल विश्वविद्यालय बनाईने अभिब्यक्ति दिएपनि, आन्दोलनकारीहरुले भने त्यो कुरा लिखित दस्तावेजमा आउनुपर्ने माग गरेका छन । संघर्ष समितिका संयोजक तथा नेकपा माओवादी केन्द्रका युवा नेता धर्मसिह कुवरले सरकारले अझै प्रष्ट रुपमा मेडिकल विश्वविद्यालय नै बनाउने भनेर खुला दिलले भन्न नसकेको आरोप लगाए । 
जेठको ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गेटमा मेडिकल विश्वविद्यालय बनाउने कुरा उल्लेख छ । तर नीति तथा कार्यक्रमको ९ दिन पछि अथवा जेठ १५ गते अर्थमन्त्री डाक्टर प्रकाश सरण मतहले प्रस्तुत गरेको बजेट बक्तब्यमा भने गेटामा सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईने र एक सय शैयाको अस्पताल सञ्चालनमा ल्याउने कुरा उल्लेख भएपछि स्थानीय विरोधमा उत्रिएका हुन । 


गेटामा साढे ५ अर्बका संरचना बनिसकेका छन । यसअघिको ब्यवस्थापिका संसदमा चित्रलेखा यादवको अध्यक्षतामा तत्कालिन संघीय सांसद योगेश भट्टराई, नारदमुनी राना, डाक्टर दिपक प्रकाश भट्ट सहितको संसदको स्वास्थ्य समितिले पनि गेटामा मेडिकल विश्वविद्यालय बनाउन सकिने प्रतिवेदन दिएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री भएपछि गेटाका निर्माणधीन संरचनाको निरिक्षण गर्दै २०७९ माघको २९ गते गेटामा मेडिकल विश्वविद्यालय बनाउने क्याबिनेट निर्णय नै गराएका थिए ।