Skip to main content

गृहमन्त्री लेखक भन्छन, ‘जाजरकोट र बझाङमा भुकम्पपछिको पुनःनिर्माण प्रार्थमिकतामा’

Submitted by editor on
ईबिगुल संवाददाता
रमेश लेखक

धनगढी : गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन । 

राष्ट्रियसभाको बिहीबारको बैठकमा उठेका प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले भूकम्पपछिको राहत र पुनःस्थापनाका लागि विभिन्न निकायबाट रकम निकासा भएकाले सरकारले केही कानुनी प्रबन्धहरु बनाएर अघि बढिरहेको जानकारी दिए । 

‘जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा रमम गई सकेको छ’ उनले भने । ‘गत वर्षको कात्तिक १९ गतेको कार्यकारी प्रमुखस्तरीय निर्णय बमोजिम रुकुम पश्चिम र जाजरकोट जिल्लामा ५÷५ करोड सहित तीन अर्ब १६ करोड निकासा भएको छ ।

उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट दुई अर्ब २५ करोड पाँच लाख २५ हजार स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको बताए । स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ताबापत एक अर्ब ९२ करोड ५८ लाख २५ हजार लाभग्राहीको खातामा निकासा भइसकेको गृहमन्त्री लेखकले बताए ।

पहिचान भएका लाभग्राहीमध्ये ९ हजार पाँच सय ८४ का लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख निकासा भएको मन्त्री लेखकले जानकारी दिए । उनका अनुसार बझाङका एक हजार दुई सय ५५ लाभग्राहीले तीन करोड १३ लाख ७५ हजार दोस्रो किस्ताबापत प्राप्त गरिसकेका छन् । अन्य जिल्लामा दोस्रो किस्ताबापतको रकम वितरण भएको प्रतिवेदन आउने क्रममा रहेको गृहमन्त्री लेखकले सदनलाई जानकारी गराए ।

अस्थायी आवास निर्माणका लागि करिब ९० करोड ९४ लाख ७५ हजार जाजरकोट, रूकुम पश्चिम, सल्यान, बझाङ र बाजुराका जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा मौज्दात रहेको पनि लेखकले बताए । 

वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२ औँ बैठकले ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ संशोधन गर्न अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएकोमा त्यसको सहमति प्राप्त भएको गृहमन्त्री लेखकले बताए ।