Skip to main content

देउवा निवासमा बम राख्नेको खोजी तीब्र, धनगढीभरीका सिसिक्यामेरा नियालिदै

Submitted by editor on
शिवराज भट्ट
बम राख्नेको खोजी तिब्र

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडि बम राख्नेको खोजी तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीको प्राविधिक टोली, धनगढीभरीका सिसिक्यामेराका भिडियो विष्लेषण गरिरहेको छ । ‘६ लेन सडक देखि सीमा नाकासम्म, धनगढी चौराहा देखि मनेहरा सम्मका सबै सिसिक्यामेराको रेकर्ड विष्लेषण भईरहेको छ’ प्रहरीको उच्च स्रोतले भन्यो । 

तर रातीको १ बजेतिर विजुली गएकाले प्रहरीलाई सिसिक्यामेराको भिडियो विष्लेषणमा सकस भइरहेको छ । ‘जतिबेला संकास्पद बस्तु राखिएको हो, त्यतीबेला धनगढीमा विजुली गएको अवस्था छ । केही स्थानका सिसिक्यामेराहरुमा ठम्याउन सकिराखिएको छैन, प्राविधिक टोली खटिएको छ’ ती प्रहरी अधिकृतले भने ।

तर प्रदेशको राजधानीमा, त्यो पनि एकजना भिआईपीको घर बाहिर जहाँ चौबिसै घण्टा प्रहरीको पहरा छ, त्यहाँ बम राखिएको फेला परेपछि जिल्लाको सुरक्षाको अवस्था भने राम्रो नभएको संकेत गर्छ । 

आधिकारिक रिपोर्ट नआएपनि, देउवाको निवासको गेटमा राखिएको संकास्पद बस्तु बम भएको पुष्टि भएको छ । सेनाको उच्चस्तरय स्रोतले उक्त बस्तु बम भएको बताएका हो । आईतबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको कार्यकक्षमा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा पनि उक्त बस्तु बम नै भएको निष्कर्ष निकालिएको थियो ।

शनिबार राती ड्युटीमा रहेको प्रहरीले देउवाको निवासको गेट नजिकै उक्त बम देखेका थिए । त्यसपछि त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातभर पहरा दिएका थिए । विहान नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको थियो ।

देउवाको उक्त घर, सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेका थिए । उनी आरजुका भतिजा समेत हुन ।