Skip to main content

डोटीमा खोलाले बगाउदा दुध पुगाउन गएकी बालिका बेपत्ता

Submitted by editor on
पहिरो र खोलाले बगाउदा तीन जना घाईते भएका छन भने पहिरोले ब्यवसायीक रुपमा गरिएको बाख्रापालनका धेरै बाख्रा मरेका छन ।
खगेन्द्रबहादुर सिंह
 बालिकालाई खोलाले

डोटी : डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ मा एक बालिकालाई खोलाले बगाएको छ । स्थानीय गन्ने खोलाले वायल बजारमा दूध पुगाउन जानेक्रममा  ८ बर्षिया निर्मला चन्दलाई बगाएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भट्टराईले बताए ।

कार्कीगाउँ बस्ने महामतीकी छोरी निर्मलाको स्थानीय  र प्रहरीद्धारा खोजी कार्य जारी छ । बोगटान फुडसिल गगुडा घर भई कार्किगाउँ स्थित मामाघरमा चन्द बस्दै आएकी थिईन । सोही खोलामा परेर अर्कि एक महिला पसल खोल्न वायल आउने क्रममा घाईते भएको स्थानीय वसन्त विकले बताएका छन् । उनको दुर्गामाण्डौ स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

बर्षाले डोटीको बडीकेदार गाउँपालिका वडा नं. ४ टिमुटेमा पहिरोले घरभित्र च्यापिएर दुइ जना घाइते भएका छन् । ४५ बर्षिय तुलाराम जेठारा र उनकी ४० बर्षिया भागरथी जेठारा घाइते भएको डिएसपी भट्टराईले जानकारी दिए । तुलाराम सामान्य घाइते भएपनि भागरथी भने गभ्मिर रहेकी छन् । दुवै जना श्रीमान श्रीमती हुन् । घरमाथि पहिरो खस्दा गएराती उनीहरु घाइते भएका हुन् ।

उनीहरुको बाख्रा खोरमा समेत पहिरो खस्दा दर्जनौ बाख्रा च्यापिएर मरेका प्रहरीले जनाएको छ । ४ वटा गाइगोरु समेत पहिरोमा पुरिएर मरेका छन् । व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका जेठारा दम्पतीको घर र खोरमा भएको क्षती विवरण संलकन कार्य भइरहेको डिएसपी भट्टराइले बताए ।

त्यस्तै के.आई.सिंह गाउँपालिका वडा नं ६ भाटीगाउँमा पनि पहिरोले पुरिएर तारा भाटका दुई वटा बाख्रा मरेका छन् । घरबाहिर निस्केर मध्यराती आफुले ज्यान बचाउन सफल भएपनि गोठ र घरमा पुर्ण क्षती भएको भाटले बताएका छन् ।

दिपायल सिलगढी न.पा. वडा नं. ०८ गोदडा बस्ने बर्ष ७० को सागर साउँदको गोठ माथीबाट आएको पहिरोले गोठ भित्र रहेको एक भैंसी च्यापिएर मरेको छ । अविरल बर्षाका कारण अझै ठुलो क्षति हुनसक्ने अनुमान गर्न सकिन्छ भने लगातारको पानीले पाक्न लागेका धानबालीमा समेत क्षति पुगिरहेको किसानहरूको गुनासो छ ।

बर्षाले ग्रामीण भेगमा जाने अधिकांश सडकहरू अवरुद्घ भएका छन् । लगातारको बर्षाले ठाउँठाउँमा पहिरो गएका छन् । त्यस्तै जोरायल गाउपालिका वडा नं. १ स्थित भिमदत्त राजमार्गको घोरडी देखी गोगनपानी सम्म ४ वटा स्थानमा पहिरो आई रामार्ग अवरुद्व रहेको र प्रहरी  चौकी घण्टेश्वरबाट  खटिएको प्रहरीद्वारा अवरुद्ध राजमार्ग खुलाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।