Skip to main content

एमाले सचिव लेखराज भट्ट भन्छन, ‘भीम रावलका कारण पार्टीभीत्र समस्या आयो’

Submitted by editor on
‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो । तर उहाँ तलतल आउनुभयो । जस कारण सुदूरपश्चिममा पार्टीभीत्र समस्या देखियो’ ईञ्चार्ज भट्टले भने ।
शिवराज भट्ट
लेखराज भट्ट

धनगढी  ः नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भईरहेको बताएका छन । नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा बोल्दै ईञ्चार्ज भट्टले यस्तो बताएका हुन । 

‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो । तर उहाँ तलतल आउनुभयो । जस कारण सुदूरपश्चिममा पार्टीभीत्र समस्या देखियो’ ईञ्चार्ज भट्टले भने । रावल हरेक पटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरुको गुट बनाउदै हिडेका छन । 
भीम रावलको बढी उठबस सुदूरपश्चिमका नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छ । शुक्रबार मात्रै टीकापुरमा रहेका रावललाई त्यहाँका एमाले र एकीकृत समाजवादीका नेताहरुले नयाँ पार्टी खोल्न दबाब दिएको खबरहरु सार्वजनिक भएका छन ।

‘जुन जिल्लामा गएपनि उनको गुटको भेला हुने, नेता कार्यकर्ताहरुलाई भडकाउने कार्यहरु भएका छन । उहाँको समस्या पार्टी नेतृत्वसँग हो भने उहाँले नेतृत्वसँगै गएर समस्या समाधान गर्नुपर्छ । तल तल आएर गतिबिधि गर्न थालेपनि पार्टी विग्रीन थालेको छ’ ईञ्चार्ज भट्टले भने ।
उनले पार्टीले ‘मीशन ८४’ भन्ने नारा ल्याएपनि पार्टीभीत्रको आन्तरिक एकता यस्तै रह्यो भने उक्त मीशन सफल नहुने बताए । ‘पार्टीले मीशन ८४ को नारा ल्याएको छ । यो भनेको आउदो ८४ को निर्वाचनमा संघ, प्रदेश र स्वाथीय तहमा एमालेको बहुमतको सरकार बनाउनु हो, तर सुदूरपश्चिममा पार्टीको आन्तरिक एकतामा सुधार भएन भने मीसन ८४ सफल पार्न सकिदैन’ नेता भट्टले भने ।

सल्लाहकार परिषदले पार्टीभीत्रको अन्तरविरोध पहिचान गर्ने, पार्टीभीत्रका गुटहरु कुनै का पक्षमा पनि नलागेर स्वतन्त्र रुपमा त्यसको समाधान गरी आन्तरिक एकता बढाउने कार्य गर्नुपर्ने नेता भट्टको भनाई थियो । उनले अहिले नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने प्रबृती बढेको बताए ।

‘नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने, पार्टी र संगठन बनाउन जनता माझ नजानेहरुको बोलबाला पार्टीभीत्र बढीरहेको छ । नेतृत्वले आफ्नो नजिकको मान्छे, आफ्नो मान्छे नभनेर एमालेको मान्छे भनेर मुल्यांकन गर्नुपर्छ’ नेता भट्टले भने । 

कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषदका अध्यक्ष अमृत बोहराले पनि सल्लाहकार परिषदलाई कार्यकारी अधिकार नभएपनि, यो कमिटि भनेको पार्टीको जीवन भएको बताए । ‘यसलाई पार्टीभीत्रबाट रिटायर्ड हुन थालेको भन्ने अर्थमा बुझिन थालिएको छ तर त्यस्तो होईन, सल्लाहकार परषद भनेको पार्टीलाई जीवन दिने, पार्टीभीत्रका अराजकताहरुलाई हटाउन सुझाव र सल्लाह दिने निकायका रुपमा बुझ्नुपर्छ’ उनले भने ।

कार्यक्रम नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहकार परिषदका अध्यक्ष खेमराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने ईञ्चाज लेखराज भट्टले सल्लाहकार परिषदका सदस्यहरुलाई सपथ खुवाएका थिए । पार्टीका प्रदेश सचिव रण बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा परिषदका नवनियुक्त सदस्यहरुलाई पार्टीका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले स्वागत गरेका थिए ।