Skip to main content

धनगढी उपहानगरको स्थापना दिवशमा उपप्रधान तथा शहरी विकास मन्त्री सिहको सम्बोधन, ‘अहिलेको विकास देख्दा ४० वर्षअघिको धनगढी स्मरण आयो’

Submitted by editor on
ईबिगुल संवाददाता
प्रकाशमान सिह

धनगढी : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले संविधान संसोधन गरेर जनताका अधिकार संकुचित पार्न खोजिएको हो–हल्ला फैलाईएको बताएका छन । धनगढी उपमहानगरपालिकाको १० औं स्थापना दिवश समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिहले यस्तो बताएका हुन ।

‘नेपालमा अस्थिरता भयो, सरकारहरु टिक्ने खालका भएनन । जनतामा अस्थिरताका कारण निरासा छायो भनेर नै ‘पार्लियामेन्ट’का पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका हुन । यो सरकारले स्थाईत्व ल्याउछ । तर अहिले सरकारको आलोचनाका लागि केही पक्ष लागिपरेका छन’ उनले भने ।

उनले अहिले देखिएका केही अप्ठेराहरु, संविधान संसोधन गरेर सहज पार्नकै लागि यो गठबन्धन बनेको बताए । ‘हामीले संविधान जारी गरेको एक दशक हुनलागेको छ । त्यो दशकमा केही अप्ठेराहरु देखिएका छन । ती अप्ठेराहरुलाई सहज पार्नका लागि एमाले र काँग्रेसका बीचमा ७ बँदे सहमति भएर सरकार बनेको सबैलाई थाहा नै छ’ उनले भने ।

उपप्रधानमन्त्री सिहले आमाले जन्माएको बच्चालाई कहिले पनि घात नगरे झैं नेपाली काँग्रेस आफैले जारी गरेको संविधानमा संसोधन गरेर जनतालाई घात नगर्ने बताउदै आम जनतालाई ढुक्क हुन आग्रह गरे । ‘काँग्रेस एमाले माओवादी सबै मिलेर संविधान बनेको हो नी । अझ नेपाली काँग्रेसका नेता शुसील कोईरालाको नेतृत्वमा नै संविधान जारी भएको सबैलाई थाहा नै छ । जसरी आमाले आफैले जन्माएको बच्चालाई घात गर्दैन, त्यसैगरी नेपाली काँग्रेस आफैले जारी गरेको संविधानमा जनताका अधिकार कुठित हुने गरी संसोधन गर्दैन, म ढुक्क हुन आग्रह गर्दछु’ सिहले भने । 

उनले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको भब्य १० औं स्थापना दिवशको प्रशंसा गरे । ‘धनगढीमा भईरहेको विकास बारे एउटा डकुमेन्ट्रिीमा हेरे । मलाई ४० वर्ष अघिको धनगढी र अहिलेको धनगढी याद आईरहेको छ । धनगढीले एउटा राम्रो मेयर पाएको छ । म सबै नगरबासीलाई शुभकामना दिन चाहन्छु’ उपप्रधानमन्त्री सिहले भने ।

धनगढी उपमहानगरपालिकाले आफुले गरेका कार्यको डकुमेन्ट्री प्रदर्शन गरेको थियो । कार्यक्रममा धनगढीका मेयर गोपाल हमालले आगन्तुकलाई स्वागत गरेका थिए भने उपमेयर कन्दकला रानाले स्थापना दिवशमा सहभागि सबैलाई धन्यवाद दिएकी थिईन ।
उपमहानगरपालिकाले राम्रो काम गर्ने कर्मचारी, राम्रो नजिता ल्याएका विद्यार्थी, शिक्षकहरुलाई पुरस्कृत पनि गरेको छ ।