Skip to main content

दार्चुला जीप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो, सबैको सनाखत

Submitted by editor on
शिवराज भट्ट
जीप दुर्घटना

धनगढी : दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जीप दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार २ जना भारतीय नागरिक सहित ८ जनाको मृत्युभएको हो ।

भारतको उत्तरप्रदेश राज्यको विजौर जिल्लाका ४५ वर्षका मोहम्मद सकिर, सोही ठाउँका १८ वर्षका मोहम्मद वसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का ३० वर्षका विरेन्द्र रावल र उनकी २८  वर्षिया श्रीमती शान्ति रावल, शैल्यशिखर  नगरपालिका वढा नम्बर ९ का ४५ वर्षका दिलिप विष्ट, सोही ठाउँका ४५ वर्षिया मीना लेखक, बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर ५ का ४५ वर्षिय विरेन्द्र सिह बोहरा र सोही ठाउँका १५ वर्षका सुजिब बोहराको मृत्युभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक प्रदिप दाहालले जानकारी दिएका छन । 

दुर्घटनामा बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर ५ का ३५ वर्षका उत्तम रोकाया, दार्चुलाको मालिकार्जुन गाउपालिका ८ का चालक सुनील जोशी, शैल्यशिखर नगरपालिका ९ का ७ वर्षका सुमीत रावल र भारतीय नागरिक सोहील शाह गम्भिर घाईते भएका छन । शैल्यशिखर नगरपालिका ५ का प्रकाश सिह डाँगा भने सामान्य घाईते भएका छन ।

डिएसपी दाहालले चालक सहितका घाइते ४ जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौं लैजाने गरी समन्वय भईरहेको बताए ।   दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जीप आज विहान ४ बजेतिर दुर्घटना भएको  थियो ।

म १ ज ३३८ नम्बरको (बन्दबडी) बोलेरो जीप ग्वानीको बजानी नजिक सिराडको खोलामा खसेको थियो । घाईते सबैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ भने मृतकहरुको शव पनि अस्पतालमै राखिएको डिएसपी दाहालले बताए ।