Skip to main content

सामुदायीक विद्यालयहरुमा पुगेर धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ

Submitted by editor on
भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गर्ने बाहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ ।
पास्टरलाई पक्राउ

धनगढी : कैलालीका सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा एकजना पास्टर पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनका अनुसार धर्म परिवर्तन शिर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ ।

भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गर्ने बाहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ ।

उनले लम्कीचुहा नगरपालिका–१ मा रहेको शहिद स्मृती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाइ धर्म अंगाल्न अनुरोध गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त भिडियो सार्वजनिक भएपछि नै प्रहरीले यसबारे चासो लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।