धनगढी : धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा एक हजार १५३ खेलाडी विद्यार्थी सहभागी हुने भएका छन् ।
बुधवारबाट सुरू हुने प्रतियोगितामा धनगढीका ४१ विद्यालयका विद्यार्थी सहभागी हुने मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले जानकारी दिईन ।
उनले १५ औं राष्ट्रपति रनिङ शिल्ड पुस २४ देखि २८ गतेसम्म धनगढी रंगशालामा आयोजना गरिने जानकारी दिइन् । यो पटक प्रतियोगितामा २६ सामुदायिक विद्यालयबाट ८४० जना र संस्थागत १५ विद्यालयबाट ३१३ जना खेलाडी विद्यार्थी सहभागी हुनेछन् ।
यो पटक ६ वटा विधाको ५२ वटा इभेन्टमा खेलहरु खेलाइने उप–प्रमुख रानाले बताइन् । राष्ट्रपति रनिङ शिल्डमा यो पटक भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो र उसुतर्फका इभेन्ट हुनेछन । प्रत्येक विधामा छात्र र छात्राले अलग–अलग प्रतिस्पर्धा गर्ने उप–प्रमुख रानाले बताइन् । यो पटक राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट ८ लाख बजेट विनियोजन गरेको छ ।