बाजुरा। बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् । २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको विनाशकारी बाढीपहिरोबाट विस्थापित भएका पीडित नागरिकले अहिलेसम्म राहत तथा क्षतिपूर्ति रकम पाएका छैनन् । क्षतिपूर्तिका लागि बेला बेला प्रशासन धाउँदा पनि सुनुवाइ नभएको गुनासो बाढीपीडितले गरेका छन् ।
बाढीपीडितले पहिलो किस्ताको पनि आधा रकम मात्र पाएको पीडित किसन कार्कीले बताए । उनले भने, “पहिलो किस्तामै ५० हजार पाउनुपर्ने थियो तर हामीलाई ३५ हजार मात्र रकम दिइएको छ ।” बाढिपहिरोबाट विस्थापित भएको पाँच वर्ष भयो तर हालसम्म पहिलो किस्ताकै पूरा रकम नपाएको उनले गुनासो गरे । बाढीपहिरोबाट विस्थापित भएपछि प्रशासनमा राहतका लागि निवेदन दियौँ । सरकारले पूर्ण क्षति भएकालाई मात्र राहत दिने भएपछि प्रमाण पेस गर्न भनियो, प्रमाण पेस ग¥यौँ तर अहिलेसम्म राहत तथा क्षतिपूर्ति रकम नपाएको उनले दुःखेसो पोखे ।
बाढीपीडित टीका नाथका अनुसार सरकारले बाढीपीडितलाई घर बनाउनका लागि पाँच लाखसम्म दिने भनेर सबै विवरण सङ्कलन गरेर लगेको थियो । रकम दिन्छ भनी विश्वास लागेर ऋण लिएर घर बनायौँ तर हालसम्म त्यो रकम नपाएपछि पीडितहरू झन् पीडामा गएका छन् । उनले भने, “साहुले पैसा मागिरहेका छन्, पैसा छैन्, कसरी ऋण तिर्ने हो ।”
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार बडीमालिका नगरपालिकाका बाढीपीडित नागरिकका लागि विपत् व्यवस्थापन समितिले जम्मा ३७ परिवारलाई ३५ हजार रुपियाँका दरले रकम भुक्तानी गरेको छ । सङ्घीय सरकारबाट बजेट नआउँदा पीडित परिवारको राहत तथा क्षतिपूर्तिको रकम भुक्तानी गर्न नसकिएको उनले बताए । पीडित परिवारले घर निर्माणका लागि पाउनुपर्ने पाँच लाख रुपियाँमध्ये ३५ हजार मात्र भुक्तानी भएको अधिकारी पाध्याको भनाइ छ । बाढीबाट घरविहीन भएका परिवारको नामावली स्थानीयस्तरमा सङ्कलन गरेर पठाएको तथ्याङ्क अनुसार मनसुनजन्य विपत्का लागि १५ करोड रुपियाँको माग गरेको उनले बताए तर माग अनुसारको बजेट आउन नसकेको उनले बताए । अहिले तत्काल मनसुनजन्य विपत्का लागि मात्र छ करोड ४५ लाख रुपियाँ आएको उनले बताए ।