Skip to main content

सुदूरपश्चिमका कुुन कुुन जिल्लाहरुमा बन्ने छन् त १५ वर्षभित्र १६६ सडक

Submitted by editor on
ईबिगुल संवाददाता
सडक


धनगढीः सुदूरपश्चिम प्रदेशभित्र अबको १५ वर्षभित्र एक सय ६६ सडक बनाउने गरी योजना अघि सारिएको छ ।

प्रदेश सरकारले पाँच हजार किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित सडक गुरुयोजना तयार पारेको हो। प्रदेशका नौवटै जिल्ला गरी एक सय ६६ सडक सो गुरुयोजनाभित्र समावेश गरिएको छ । ती सडक कालोपत्र गर्न साढे एक खर्ब लगानी अनुमान गरिएको छ । प्रदेश सरकार अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले तयार पारेको गुरुयोजनामा छनोट गरिएका सडक कालोपत्र गर्न लाग्ने लगानी अनुमान गरिएको हो ।

यातायात पूर्वाधार निर्देशनालयका प्रमुख जगतप्रसाद जोशीले स्रोत जुटाउन सके १० वर्षभित्रै पाँच हजार किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको बताए । उत्तर–दक्षिण र पूर्व–पश्चिम जोड्ने, पर्यटकीय केन्द्र तथा आर्थिक केन्द्र जोड्ने सडकलाई गुरुयोजनामा समावेश गरिएको छ । कैलालीमा पाँच सय ५६ किलोमिटर लम्बाइका २३ वटा सडक र कञ्चनपुरमा दुई सय ७९ किलोमिटर लम्बाइका १४ वटा सडकलाई गुरुयोजनामा समावेश गरिएको छ ।

त्यस्तै, अछाममा ७७२ किलोमिटर लम्बाइका १९, बैतडीमा ७१२ किलोमिटरका २६ र डोटीमा ६१७ किलोमिटर लम्बाइका १५ वटा सडक कालोपत्र गरिने लक्ष्य छ । यस्तै बाजुरामा ४८९ किमी २० र दार्चुलामा ४४२ किमीका १७ वटा सडकलाई गुरुयोजनामा समावेश गरिएको छ । बझाङमा ६४८ किलोमिटर लम्बाइका १९, डडेलधुरामा १३ वटा सडकको ४७९ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य छ । यातायात पूर्वाधार निर्देशनालयका अनुसार प्रदेशका ८८ वटा पालिकामध्ये तीनवटा पालिकाको केन्द्रसम्म सडक नै पुगेको छैन । त्यस्तै, ३२ वटा पालिकाको केन्द्रलाई कालोपत्र सडकले छोएको छैन ।