धनगढीः कैलालीमा ५० हजारको संख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदै छ । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो ।
कैलालीसहित सुदूरपश्चिमका नौवटै जिल्लमा करिब दुई लाख दुई हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई विद्यालयमै पुगेर खोप लगाइने भएको छ । कैलालीका ७५५ विद्यालयमै पुगेर किशोरीलाई खोप लगाइने छ । स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूको समन्वयमा खोप अभियान चलाउने भएको छ । खोप अभियान अन्तर्गत जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने कैलालीका स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरले बताए । ‘सरकारले सुदूरपश्चिमका सबै जिल्लामा ह्युमन पिपिलोमा भाइरस विरुद्धको खोप अभियान चलाउने भएको छ ।
माघ २२ देखि फागुन ६ गतेसम्म कैलालीमा खोप अभियान चल्नेछ’ । ‘पछि गएर महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनु परेको हो ’ , उनले भने । पाठेघरको क्यान्सर हुन नदिन सरकारले खोप अभियान थालेको हो ।’
खोप अभियानमा कक्षा ६ देखि १० मा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप केन्द्र राखेर सिकोलिन नामक भ्याक्सिन लगाइने छ । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन एक मात्रा खोप लगाइने कैलालीका स्वास्थ्य कार्यालय प्रमुख कुँवरले बताए । उनले पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको ज्यान जाने भएकाले क्यान्सर नियन्त्रणका लागि विश्व स्वास्थ्य संघले प्रमाणित र सिफारिस गरेको खोप लगाइने बताए ।
स्तन क्यान्सरपछि महिलामा पाठेघरको मुखको क्यान्सरको संक्रमण सबैभन्दा बढी हुने गरेको देखिएको छ । क्यान्सरका कारण हुने मृत्युमा पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको मृत्युु हुने गरेको सरकारी तथ्याङ्क छ । १५ वर्ष अगाडि नै खोप लगाए पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।
भविष्यमा पाठेघरको मुखको क्यान्सर नहोस् भनेर सरकारले खोप अभियान चलाएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताए । जिल्लाका १३ वटै स्थानीय तहका ७५५ विद्यालयमै खोप केन्द्र राखेर क्यान्सर विरुद्धको खोप लगाइने छ । विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई स्वास्थ्य संस्थामा खोप लगाइने छ । पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न खोपको एक मात्रा मात्रै लगाउनु पर्छ ।