धनगढी : कैलालीमा ६ महिनामा ३३३ जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म तीन सय ३३ जना पक्राउ परेका हुन । चालु आर्थिक वर्षमा मात्र २०६ जनाका विरुद्धमा कैलाली प्रहरीले मुद्दा दर्ता गरेको छ, ।
तीन आर्थिक वर्षमा कैलालीमा एक हजार २ सय ८४ जना लागुऔषधसहित पक्राउ परेका छन । कैलाली प्रहरीको तथ्याङ्कमा २०७८/७९ मा २९७ पुरुष र ९८ महिला गरि ३१५ जना, २०७९/०८० मा ४७३ पुरुष ४९ जना महिला गरि ५२२ र २०८०/८१ मा ४२० पुरुष २७ जना महिला गरि ४४७ जना लागुऔषधसहित पक्राउ परेका हुन् । कैलाली प्रहरीले पक्राउ गरेका उनीहरूमा २०७८/७९ मा २०१ जना, २०७९/०८० मा ३४७ र २०८०/०८१ मा ३१५ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता गरिएको छ। कैलालीमा प्रत्येक वर्ष लागुऔषधको कारोबार तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्र तीन सय ३३ जना पक्राउ परेका छन भने, २०६ जना विरुद्धमा अदालतमा मुद्दा दर्ता भएको छ ।
कैलाली प्रहरीले विद्यार्थी तथा किशोर उमेर समूहका दुव्र्यसनीहरूको सङ्ख्या धेरै रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्र बोहराले खुल्ला सीमाका कारण समस्या रहेको बताए । उनले भने, ‘कैलालीको पलियाबाट लागुऔषध आउने हो। कैलालीमा एक सय तीन किलोमिटर खुल्ला सीमा छ । खुल्ला सीमाका कारण समस्या भएको हो । यो पुसको महिनामा मात्र ठुलो सङ्ख्यामा पक्राउ परेका छन । विद्यार्थीको सङ्ख्या बढी छ । १५ देखि २५ वर्षको उमेर समूहका विद्यार्थीहरू बढी छन् ।’
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट धनगढी अध्ययनका लागि आएकाहरू सबै भन्दा बढी लागुऔषधको दुव्र्यसनीमा पर्ने गरेका छन । प्रहरीले अभिभावकको बेवास्ताका कारण दुर्व्यसनीमा फस्दै आएको बताएको छ। उनले भने, ‘छोरा–छोरीहरू धनगढीमा बढ्न आएका हुन्छन । अभिभावकले उनीहरूमाथि फिटिक्ककै ध्यान दिएको देखिएन। छोरा–छोरी पढिराछन् भन्ने सोच आमा–बुवाले बनाएको हुन्छन् । तर, यता उनीहरू कुलतमा फसिरहेका हुन्छन् ।’ युवतीहरू पनि लागुऔषधको दलदलमा फसेको प्रहरीले बताएको छ ।