Skip to main content

मानवसेवा आश्रमको महायज्ञको उदघाटन मुख्यमन्त्री शाहले गर्नुहुने

Submitted by editor on
ईबिगुल संवाददाता
मानवसेवा आश्रम

धनगढी: मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्न धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुँदै गरेको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को उदघाटन मुख्यमन्त्री कमलबहादुर शाहले गर्र्नुने भएका छन । माघ २३ गते बिहान १०ः३० बजे मानवता प्रेमी मनहरूका साथमा बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्राः पहिलो लेयरमा सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली रहने छ । विभिन्न सांस्कृतिक बाजागाजा सहित भुवा,हुड्केली,हलिया, पुतला, गौरा, सखिया, होली,देउडा,लाखेनाच सहित सांस्कृतिक झाँकी सहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा हुनेछ । कलश यात्रा पश्चात औपचारिक रूपमा समुद्घाटन हुने समारोहमा मुख्यमन्त्रीको विशेष सम्बोधन सहितको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । 

२३ गते सुरु हुने महायज्ञको तयारी पूरा भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले बताए।  धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा मानवसेवा आश्रमका अभियन्ता, अभिभावक, कर्मचारी र सबै शाखाबाट आएका अभिभावक तथा अभियन्ता ३ साता अघिदेखि महायज्ञ स्थल तयारीमा जुटेका छन। संयोजक कुँवरका अनुसार महायज्ञस्थलमा १ हजार भन्दा बढी भक्तजन अटाउने पंडालको व्यवस्था गरिएको छ । त्यस्तै गुरु प्रवचन तथा झाँकी प्रस्तुति मञ्च, उत्तर र दक्षिण मोहडाबाट महायज्ञ स्थल प्रवेशद्वारको व्यवस्था, सूचना सम्प्रेषणका लागि मिडिया हेल्प डेस्क सेन्टर व्यवस्था गरिएको छ । त्यस्तै महायज्ञ परिसर को विभिन्न स्थलमा खानेपानी वितरण कक्षको व्यवस्था गरिएको छ । भक्तजनहरूको सवारी पार्किङका लागि चारपाङग्रे र दुई पाङग्रे सवारी साधन महायज्ञ स्थल परिसर नजिकै निःशुल्क पार्किङ सुविधा सहित व्यवस्था गरिएको छ । त्यस्तै आकस्मिक अवस्थाका लागि उद्धार र सहयोग कक्ष, महायज्ञमा सहभागी हुने कोही पनि भक्त भोकै नपरुन् भनी प्रसादी वितरण कक्षको समेत वितरण गरिएको छ । महायज्ञ नजिकै  सोधपुछ कक्ष, रकम योगदान दाता सेवाकेन्द्र कक्ष , महिला पुरुषको छुट्टाछुट्टै लाइन व्यवस्था, भक्तजनको तस्बिर खिच्ने  र उपलब्ध गराउने कक्षका रूपमा फोटो डेक्स समेतको व्यवस्था गरिएको छ । महायज्ञको सारा व्यवस्थापकीय पक्ष सहजीकरणको लागि सचिवालय कक्षको व्यवस्था गरिएको छ । अतिथि सत्कार कक्ष, फोटो प्रदर्शनी , शौचालयको व्यवस्था, जुत्ता चप्पल व्यवस्थापन कक्ष लगायतका डेक्सहरु खडा गरी सम्पूर्ण तयारी सकिएको संयोजक कुँवरले बताए । 
महायज्ञमा हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी, लवदेव मिश्र लगायतबाट योग शिविर सञ्चालन हुनेछ । विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवद्र्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुने छन्  । 

महायज्ञमा २४ गतेबाट ३० गते सम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन कथा वाचन हुनेछ । साँझ साँढे ४ बजे पछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ । हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछ ।  हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप,पाठ     परायण आदि हुने छन् । 

समितिका अनुसार  महायज्ञमा उपस्थित भक्तजनहरूको ७ दिन नै चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण सञ्चालन  हुनेछ । महायज्ञकै अवसरमा मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवको अवस्था झल्किने गरी सडक  र स्टेज दुवैमा नाटक प्रहर्सन गर्ने तयारी छ । 

आश्रम सुदूरपश्चिम प्रदेश स्तरियता मानवीय मन्दिर (भवन) धनगढी उपमहानगर १५ उर्मीमा २ विगाह जग्गामा निर्माण सुरु भइसकेको छ । यसलाई सम्पन्न गर्नका लागि आर्थिक संकलन र सद्भावनाका लागि महायज्ञ आयोजना गरिएको आश्रमका अध्यक्ष अधिकारीको भनाई छ । करिब ३७ करोड रुपैयाँको गुरु योजना सहित निर्माण सुरु गरेको उक्त जग्गामा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोमञ्जन केन्द्रको स्थापना सहित गुरु योजना तयार भएको छ । यो मानवीय मन्दिर निर्माण भएपछि  सुदूर पश्चिमाञ्चलका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । सरकारका तीनै तहले गर्नुपर्ने कार्य पछिल्लो समय मानवसेवा आश्रमले गरिरहेको छ भने विभिन्न जिल्लामा यस अघि निर्माण भइसकेका मानवीय मन्दिर निर्माणमा सरकारका तीनै तहबाट र मानवता प्रेमी मनहरूबाट सहयोग जुटेर सेवा सञ्चालन भइरहेको छ । २०८२ सालमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल ‘मिसन २०८२’ गर्ने गरी आश्रमले अभियान सञ्चालन गरिरहेको छ ।

मानवसेवा आश्रम गते सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखा २०७५ साल मंसिर १  गते धनगढी – ५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो । यस शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश  धनगढी शाखाको आफनै भवन निर्माण गर्ने लक्ष्य राखी श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गर्न लागिएको हो ।  यस पुण्य कार्यमा  सुदूरपश्चिम प्रदेशका सबै मानवता प्रेमी मनहरूलाई महायज्ञमा सरिक हुन मानवसेवा आश्रमले अनुरोध गरेको छ  ।

मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम मुख्यालय भने २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।

आश्रमले वि.सं. २०८२ सालभित्र सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको छ  भने घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अस्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।