Skip to main content

के होला, सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
क्रिकेटर सन्दीप लामिछाने

काठमाडौं ः क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश  शिशिर ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो। 


मुद्दामा आइतबारदेखि सुनुवाइ सुरू भएपनि बहस सकिएको छैन। यसअघि पुष ८ गते बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। यसअगाडि न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्न आदेश दिएको थियो। लिखित बहस नोट पेस गर्न मंसिर २२ सम्मको समय दिएको थियो। पटक पटक पेशी तोकिदै आएपनि मुद्दामाथि सुनुवाइ हुन सकेको छैन।


लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ। यस अगाडि जिल्ला अदालत काठमाडौंले  लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो।


यसअघि  मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।


पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए। धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए।

 

पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न  विदेश जान अनुमति दिएको थियो। त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो ।