Skip to main content

जागिर दिने आश्वासनमा २ सय युवा ठगिए

Submitted by editor on
ईबिगुल संवाददाता
युवा ठगिए

धनगढी: कैलाली र बर्दियाका २ सय युवा ठगिएका छन्।

एक गिरोहले उनीहरूलाई पानी जहाजमा जागिर लगाई दिने भन्दै ठगेको हो।

कैलाली र बर्दियाका झन्डै २ सय जना युवाहरुहरूको झन्डै चार करोड रुपैयाँ स्वाहा भएको छ। बर्दिया राजापुर नगरपालिका– ५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी ठगीमा सङ्गलन रहेका छन्। उनीहरूले युवाहरूलाई सम्पर्कमा ल्याउन गाउँ–गाउँमा प्रतिनिधिसमेत पठाएका छन्। पीडितहरूले दुईदेखि पाँच लाखसम्म तिरेको बताएका छन। उनीहरू मध्ये कसैले नगद र कसैले बैँक चेक मार्फत गिरोहलाई रकम बुझाएका हुन।

गिरोहले युवाहरूलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाई दिने आश्वासन दिएका थिए। यसै क्रममा युवाहरूलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकाडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो। डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिईएको थियो। पहिलो चरणको तालिम पश्चात् युवाहरूलाई घर पठाईएको थियो। उनीहरूलाई २०८१ दशैं अघि दोस्रो चरणको दुई महिने थप तालिम दिईएको थियो।

युवाहरूलाई पहिलो चरणमा पानीबाट आफू र यात्रुलाई कसरी जोगाउने र दोस्रो चरणमा अङ्ग्रेजी बोलीचालीका बारेमा सिकाईएको थियो। गिरोहले दुई चरणको तालिम पश्चात् युवाहरूलाई २० दिन भित्र जागिरमा पठाउने आश्वासन दिएको थियो। पीडित युवाहरूले गिरोहका नाइके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समाते। जागिरको सुनिश्चितता नभएपछि नाइके चौधरीले सबै युवाहरूलाई विभिन्न बैँक तथा वित्तीय संस्थाको चेक थमाए। युवाहरू चेक बोकेर बैँक तथा वित्तीय संस्थामा पुगेपछि चेक साटिएन। चेक नसाटिएपछि युवाहरूले ठगिएको चाल पाएका हुन्।

युवाहरू जागिरमा जानु भन्दा पहिले घर परिवार भेट्न भन्दै घर फर्किएका थिए। घर फर्केको चार महिना बितिसक्दा समेत जागिरको ठेगान नभए पछि उनीहरुले गिरोहको खोजी गरेका हुन। जानकी गाउँपालिका– ८ भगरैयाका शंकर चौधरीले हिमांशु चौधरी सम्पर्क बिहिन भएका बताएका छन्। मनोज चौधरी भारतको मुम्बई पुगेका छन। गिरोहले यसैगरी पानी जहाजमा जागिर लगाईदिने भन्दै तालिम पश्चात् भारतको मुम्बई पुर्‍याएका थप ३० मध्ये २१ जना समेत घर फर्किएका छन।

घर फर्किन नसकेका नौ जनाले समेत अहिलेसम्म जागिर पाउन नसकेको पीडित मध्येका जानकी गाउँपालिका– १ तोरैयापुरका अनुराग थारुले बताए। गिरोहले युवाहरुलाई मासिक करिब डेढ लाख आम्दानी हुने आश्वासन दिएका थिए। राम्रो कमाई हुने देखिएपछि युवाहरू गिरोहको चंगुलमा फसेका हुन। उनीहरू मध्ये कतिपयले स्वदेशमै गरिरहेको सानोतिनो जागिर समेत छोडेर गएका थिए।

जागिर पाउने प्रलोभनमा परेर युवाहरूले विभिन्न वित्तीय संस्था र सहकारीबाट ऋण लगेर गिरोहलाई बुझाएका थिए। अहिले युवाहरूलाई ऋणको सावा ब्याज तिर्न निकै कठिनाइ भैरहेक जानकी गाउँपालिका–८ भगरैयाका विष्णु चौधरीले बताए। पीडितहरूले इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया र इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजेका थिए। प्रहरीले उजुरी लिन मानेन। उनीहरू इलाका प्रशासन कार्यालय, टीकापुर पुगे। इलाका प्रहरीले पनि श्रम विभागमा जान सुझाव दिएपछि पीडित तनावमा छन्।