Skip to main content

७० प्रतिशत लागुऔषधका सेवनकर्ता कैलाली प्रहरीको थुनुवा कक्षमा

Submitted by editor on
ईबिगुल संवाददाता
कैलाली प्रहरी

धनगढीः कैलाली प्रहरीको थुनुवा कक्षमा ७० प्रतिशत लागुऔषधका सेवनकर्ता पाइएका छन् ।

छोराछोरीले गर्ने व्यवहार एवं आनीबानीका बारेमा सचेतता अपनाउनु भएको छैन भने उनीहरूमध्ये धेरै कुलतमा फसिरहेका हुनसक्छन्। पढ्न जाने वा घर बाहिरको काम गर्न जाने बहानामा कुलतमा फसेका साथीभाईको सङ्गतमा लागेर धेरै युवा एवं वयस्क व्यक्ति लागु औषधको कुलतमा फसिरहेका घटना बढ्दै गएका छन्। यीमध्ये कतिपय युवती पनि यस्तो कुलतमा फस्ने गरेको पाइएको छ।

दिनैपिच्छे कैलालीसहितका जिल्लामा प्रहरी टोलीले लागु औषधसहित विभिन्न व्यक्ति धमाधम पक्राउ पर्नथालेको पनि छ। लागु औषधको सेवन र ओसारपसारमा फस्नेमध्ये अधिकांश युवा फेलापर्ने गरेको प्रहरीको तथ्याङ्क छ। यसको सेवन तथा ओसारपसारका घटना डरलाग्दो रूपमा फैलिँदै गएको देखिएपनि यो समस्याका बारेमा समाजमा खास चासो र चिन्ता व्यक्त गरिएको देखिदैन। यसका कारण लागु औषधको समस्या न्यूनीकरण हुनुको साटो बढ्दै गएको घटनाक्रमले देखाएको छ।

युवाहरू लागु औषध दुव्र्यशनको सिकार भइनुँदा पनि सम्बन्धित अभिभावक भने बेखवरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको अनुभव छ।

यो समस्याको समाधानका लागि प्रहरीले प्रयास गरिरहेपनि न्यूनीकरण हुन सकिरहेको छैन। कैलाली जिल्लामा एकैदिन १२ जनासम्म लागु औषधसहित पक्राउ परेको तथ्याङ्क छ। पक्राउ पर्नेहरूबाट खैरो हिरोइन, नाइट्राभेट, नाइट्रजपाम, चरेश, स्पास्मो, ब्राउन सुगर, कोडेक्स, ट्रमाडोलजस्ता लागु औषध बरामद हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्का अर्काको देखिसेकी, घरपरिवारको बिग्रेको माहोल, छोराछोरीप्रति अभिभावकले गर्नुपर्ने निगरानीमा कमीकमजोरी, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीसङ्गत, लागु औषध सेवनको उत्सुक्ता जग्नुजस्ता कारणले धेरै युवाहरू कुलतमा फस्दै गएको बताए। उनले भने, ‘भारतसँगको खुला सीमाका कारण पनि लागु औषधको ओसारपसार र सेवनको समस्या बढ्दै गएको छ, समाजमा हुने चोरी, डकैति, लुटपाटजस्ता अपराधिक घटनामा कुनै न कुनैरूपमा लागु औषधमा फसेकाको हात हुने गरेको देखिन्छ।’ समाजमा बेलाबखत हुने गरेका आपराधिक घटनामा लागु औषध सेवनकर्ताको कुनै न कुनै रूपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनुवामा पर्नेमध्ये ७० प्रतिशत लागु औषधको मुद्दाका हुने गरेको जनाइएको छ। लागु औषधको कारोवारी र सेवनकर्तालाई पक्राउ गर्न प्रहरीले बेलबखत ‘कर्डन एण्ड स्विप अप्रेशन’ अभियान चलाउने गरेको पनि छ। प्रहरीले लागु औषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयासमा गरिरहेको छ। ‘बढी सङ्ख्यामा २० देखि ३० वर्ष उमेर समूहका युवा यस्तो कुलतमा फस्ने गरेको पाइएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्काले भने, ‘अभिभावकले आ–आफ्ना छोराछोरीको आनीबानीका बारेमा सचेतता आपनाउन निकै जरूरी भइसक्यो।’

नेपाल–भारतबिचको खुला सीमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ। सीमापारी भारतीय बजारमा त्यहाँका व्यापारीले निर्बाध रूपमा लागु औषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले लागु औषधका मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ। आर्थिक वर्ष२०७८/७९मा लागु औषधका दुईसय एक मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८०सम्म आइपुग्दा यो सङ्ख्या बढेर तीन सय ४७ पुगेका थिए। यस्तै आर्थिक वर्ष २०८०/८१मा तीनसय १५ मुद्दा दर्ता भएकोमा चालु वर्ष२०८१/८२को माघसम्म दुई सय ६९ मुद्दा पुगेका छन्। चालु वर्षको माघसम्म दर्ता भएका लागु औषधका मुद्दामा तीन सय ६५ पुरूष र२२ महिला पक्राउ परेको जनाइएको छ। गत आर्थिक वर्ष २०८/०८१ मा चार सय ४७ जना पक्राउ परेका थिए।

लागु औषधको ओसारपसार र सेवनक्र्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि बेलाबखत प्रहरीले विद्यालयमा अध्ययनरत छात्र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गरेर चेतना अभिवृद्धि गराउने गरेको छ। लागु औषधको सेवनबाट अधिकांश किशोर किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी चेतनामूलक कार्यक्रम थालिएको प्रहरीको भनाइ छ। यसका लागि प्रहरीले विद्यालय सञ्चालकसँगको समन्वयमा विद्यार्थीको छुट्टै कक्षामार्फत् यस्तो चेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिने गरेको छ।