धनगढी : कैलाली टीकापुरका नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा ताला लगाइएको छ।
नगर प्रमुख रामलाल डगौरा थारू र कार्यपालिका सदस्यहरूबिच फेरि विवाद सुरु भएको हो।
नगर प्रमुख रामलाल डगौरा थारूले कार्यपालिका सदस्यहरूले विकासका काममा सहयोग नगरेको पत्रकार सम्मेलनमा बताएका थिए। बिहिवार उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन। शुक्रवार कार्यपालिका सदस्यहरूले नगर प्रमुख विधिमा नचलेको, कार्यपालिका सदस्यहरू असहमत भएका प्रस्तावहरू पनि निर्णय लेखेर प्रमाणित गर्ने गरेको भनी पत्रकार सम्मेलन गरेका छन्। उनीहरूले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा ताला लगाएका हुन्।
पत्रकार सम्मेलनपछि माइन्यूटका असहमति लेख्न आएका कार्यपालिका सदस्यहरूले माइन्यूट नपाएपछि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखामा ताला लगाइदिएका हुन्। नगर प्रमुख थारू यतिबेला काठमाडौँमा छन्। मन्त्रालयले काजमा पठाएका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी कार्यालयमा पुगेका छैनन्।
नगर कार्यपालिकाको २०८१ माघ २९ गते बसेको ४७ औं कार्यपालिका बैठकले २०७९ जेठ २३ गतेको पहिलो कार्यपालिका बैठकले चयन गरेका सदस्यहरू दीपक निसानी र राजरानी चौधरीलाई फिर्ता बोलाई, वडा नम्बर ९ का वडाध्यक्ष लौटन चौधरी र कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई अनुगमन तथा सुपरिवेक्षण समितिमा पठाउने निर्णयले विवाद ल्याएको छ।
कार्यपालिका १२ जना सदस्यहरूले फागुन १९ गते नगर प्रमुखको स्वेच्छाचारी गतिविधिको प्रेस विज्ञप्ति मार्फत विरोध गर्ने र निर्णय फिर्ता गराउने निर्णय गरेका थिए। यो कुरा थाहा पाएपछि नगर प्रमुख रामलाल डगौरा थारूले फागुन २२ गते पत्रकार सम्मेलन गरी कार्यपालिका सदस्यहरूले काम गर्न नदिएको र विकास विरोधी भएको बताएका थिए। टीकापुर नगरपालिकाका उपप्रमुख हाल निलम्बनमा छन्।