धनगढी ः प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन ।
हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बोधन गर्नेछन भने त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नेछन ।
प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले आइतवार दिउँसो ३ बजे सभा गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले जनाएको छ । सहरी विकासका इन्जिनियर पुष्प भट्टले उद्घाटन पश्चात धनगढी उपमहानगरपालिकाकालाई सभागृह हस्तान्तरण गरिनेछ ।
संघीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो । सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो । सहरी विकासले प्रधानमन्त्री ओलीमार्फत धनगढी उपमहानगरपालिकालाई सञ्चालनको लागि सभा गृह हस्तान्तरण गर्नेछ ।
सभा गृह सञ्चालनका लागि आवश्यक फर्निचर लगायतका उपकरण जडान नभएको भन्दै उपमहानगरपालिकाले बुझ्न मानिरहेको थिएन ।
सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो । धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ । सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ । दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ । सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्रार्किङ गर्न सकिने छन् ।
विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ । सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको छ ।