धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सांसद मानबहादुर धामीले प्रदेशमा कर्मचारी र विद्यार्थीहरूले उठाइरहेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० संसदीय दलका नेतासमेत रहेका धामीले कर्मचारी र विद्यार्थीहरूले केही दिनदेखि लगातार आन्दोलन गरिरहँदा पनि उनीहरूका समस्या समाधानमा चासो नदेखाइएको, लोकतन्त्रमा खतरा उत्पन्न भइरहेकोलगायत विषय उठाउँदै सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन। उनले सीमित कर्मचारीलाई लाभ पुग्नेगरी ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ ल्याउन लागिएको भन्दै धनगढीमा विद्यार्थी र कर्मचारीहरू छुट्टाछुट्टै रूपमा केही दिनदेखि प्रदर्शन गरिरहेका बताए।
समस्याको समाधानका लागि मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घर्षरत विद्यार्थीसँग छलफल गरेका थिए। तर, कुनै निष्कर्षमा पुग्न नसकेको जनाइएको छ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का सांसद धर्मराज पाठकले आइतवारको प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लागेकाले प्रदेशको विकासका लागि सबै दलहरू एक ठाउँमा उभिएर साझा प्रतिबद्धतासहित प्रस्ताव पेस गर्नुपर्नेमा जोड दिए।
नेपाली काँग्रेसका सांसद विक्रमसिंह धामीले दार्चुलाको मल्लिकार्जुन गाउँपालिका–४ की सीता धामीको शिविरमा परिवार नियोजन गराउँदा शल्यक्रिया असफल भई सेती प्रादेशिक अस्पतालमा उपचार गर्नुपर्ने अवस्था सिर्जना भएकाले उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गराए। उनले अबदेखि यस्ता शिविर सञ्चालन गर्दा दक्ष चिकित्सकको व्यवस्था गर्न माग गरेका छन्।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष टेबुल गरेका छन्। सभामुख भीमबहादुर भण्डारीले आइतवार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको बताएका छन्।