Skip to main content

सुदूरपश्चिम प्रदेशको रानाथारू समुदायमा होरीको रौनक सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
होरी पर्व

धनगढीः सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ।

एक महिना आठ दिनसम्म चल्ने होरी पर्वमा अहिले रानाथारू समुदायका मानिसले जिन्दा होरी मनाइरहेका छन्। जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ। माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर रमाउने गरेको नारायण रानाले बताए।  
उनका अनुसार होली पर्वको होलिका दहन नगरुन्जेलसम्म रानाथारू समुदायका बुढापाका, युवकयुवती मिलेर राति जिन्दा होरी नाच नाच्ने र रमाउने गर्दछन्। अहिले विभिन्न गाउँमा हरेक रात जिन्दा होरी नाच देखाउने काम भइरहेको छ।होरी रानाथारू समुदायको सबैभन्दा ठुलो पर्व हो। जिन्दा र मरी गरेर दुई चरणमा होरी पर्व मनाउने गरिन्छ।

नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष जीवन रानाका अनुसार होलिका दहनपछि रानाथारू समुदायमा मरी होरी सुरु हुन्छ। मरी होरी आठ दिनसम्म मनाउने चलन छ। मरी होरी अवधिभर मौलिक पहिरन लगाएर दिउँसो होरी नाच नाचेर रमाउने गरेको रानाको भनाइ छ।

मरी होरीको अन्तिम दिनलाई खख्डेहरा भन्ने गरिन्छ। गाउँका मानिसले बिहानै खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरीको विधिवत् रूपले समापन हुन्छ। खख्डेहरा फुटाएको दिन आफन्त, मित, मितिनी, इष्टमित्रलाई बोलाएर हट्कना (मिठा मिठा खानाको परिकार) खुवाउने चलन रहेको छ। खख्डेहरा रानाथारू होरीको सबैभन्दा महत्वपूर्ण दिन हो। यस दिन प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ।

खख्डेहरा फुटाएर होरी पर्वको समापन गरिए पनि होरी सेलाउने कार्य भने चराइँमा हुने गरेको छ। चैत महिनामा चराइँ पर्व मनाएपछि बल्ल होरी सकिने गरेको रानाको भनाइ छ। यो समुदायका मानिसले असत्यमाथि सत्यको जित भएको खुसियालीमा नाच्दै, रमाउँदै होरी पर्व मनाउने गरेको बताइएको छ।