Skip to main content

हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड चोरी गर्ने कञ्चनपुरका राहुल पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे। प्रहरी उपरीक्षक अंगुर जिसी भन्छन्, ‘त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्याउँथे।’

प्रहरी उपरीक्षक जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफल भएका थिए। उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ।

उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए। उनलाई वैशाख २ गते काठमाडौँको कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।