Skip to main content

बडीमालिका नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण

Submitted by editor on
ईबिगुल संवाददाता
बाजुराः

बाजुराः बाजुराको बडीमालिका नगरपालिका ७ का भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको छ।

वडा नम्बर ७ मा प्राप्त ५१ निवेदनमध्ये ६ जना भूमिहीन दलित र ४५ जना अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए। भूमि समस्या समाधान आयोग बाजुराको समन्वयमा तथा वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडाले लगत प्रविष्टिसँगै निस्सा वितरण सुरु गरेको हो।

आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले ऐलानी तथा पर्ती जग्गा पहिचानपछि नापजाँच गरी लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने बताए। उनका अनुसार लाभग्राहीलाई निस्सा वितरणपछि सातदिने दाबी–विरोध सूचना जारी गरिनेछ, विरोध नभएमा लालपुर्जा वितरण हुनेछ।

भूमिहीन सुकुमवासी तथा दलितलाई निःशुल्क जग्गा उपलब्ध गराइने व्यवस्था छ भने अव्यवस्थित बसोवासीको हकमा मापदण्डअनुसार मूल्यांकन गरी प्रक्रिया अघि बढाइने छ।