Skip to main content

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लिलाधर सुवेदीलाई कारवाहीको माग

Submitted by editor on
काठमाण्डौंबाट प्रकाशित अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र धनगढीको ईविगुल डटकमको समाचार लिंक सेयर गर्दै सचिव सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवशको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन ।
ईबिगुल संवाददाता
सचिव लिलाधर सुवेदी

धनगढी : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीले आफ्नो पेसबुक वालमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । 

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले शनिबार विज्ञप्ती प्रकाशित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवशकै दिन समग्र पत्रकारिता क्षेत्र र मिडिया हाउसहरुलाई बदनामित हुने गरि आफ्नो फेसबुक वालमा लेखिएको स्टाटसप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

काठमाण्डौंबाट प्रकाशित अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र धनगढीको ईविगुल डटकमको समाचार लिंक सेयर गर्दै सचिव सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवशको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन । 

‘आफ्नो बारेमा प्रकाशित समाचारका विषयमा विमति भए कानूनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित हुने गरी स्टाटस राखिएको घटना भ्रत्सनायोग्य र निन्दनीय छ । कुनै पत्रकारले पैसा खाएर समाचार  लेखेको भए, त्यसको सप्रमाण महासंघको प्रदेस समितिलाई उपलब्ध गराउन पनि महासंघ सचिव सुवेदीलाई चुनौती दिन चाहन्छ’ अध्यक्ष शाहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महासंघले सचिव सुबेदी आफ्नो पदीय मर्यादा विर्सेर कानन विपरित कार्य गरिरहेको पनि महासंघको ठहर छ । ‘प्रदेश सचिव जस्तो पदमा बसेका ब्यक्तिले आफ्नो पदीय मर्यादाको ख्यालै नगरी यस्ता गैरजिम्मेवार र अफवाहपूर्ण अभिब्यक्ति दिनु कानूनको बर्खिलाप हो । बेला/बेला सचिव सुवेदीले पार्टीको कार्यकर्ता जस्तै देखिनेगरि स्टाटस लेख्दै आएका छन । उनले आफ्नो फेसबुक वालमा पोखराको भावि मेयर सम्म लेख्न भ्याएका छन । यस्ता हर्कतहरु निजामति कर्मचारी आचार संहिता विपरित भएको महासंघको ठहर छ’ विज्ञप्तीमा भनिएको छ ।  

महासंघले यस्ता अराजक सचिवलाई कारवाहीको पनि प्रदेश सरकारसँग माग गरेको छ । ‘समाज रुपान्तरण र जनतालाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारहरुलाई बदनामित गर्ने र हतोत्साहित हुने कार्य बन्द गर्न सचिव सुवेदीलाई महासंघ चेतावनी दिन चाहन्छ । साथै यस्ता कर्मचारीलाई कारवाही गर्न महासंघ प्रदेश सरकारसँग माग गर्दछ’ अध्यक्ष शाहद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।