Skip to main content

यस्तो छ बोर्डरको ब्राउन सुगर गिरोह : टार्गेटमा टीनएजर

Submitted by editor on
शिवराज भट्ट
ब्राउनसुगर

धनगढी : २०८० सालको पुष १९ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का कविरदास राना ५ ग्राम ब्राउन सुगर सहित पक्राउ परे । प्रहरीले केरकार गर्दा उनले उक्त ब्राउन सुगर भारतको गौरीफन्टाबाट ल्याएको बताए ।


२०८० सालको कार्तिक १७ गते नेपाल प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर ९ सोनपुर भन्ने स्थानबाट भारतीय नागरिक कुलदिप सिह र गुरुबेन्द्र सिह १० ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परे । उनी दुबै जना भारतीय नम्बरकै आ–आफ्नो मोटरसाईकलमा आएर नेपालमा ब्राउनसुगरको कारोबार गरिरहेको खुलेको छ ।


२०७९ सालको चैत २२ गते टीकापुर नगरपालिकाको वडा नम्बर ७ सोनाफाँटा नजिकबाट भारतको लखिमपुर खीरि जिल्ला सैनखेरा बस्ने २६ वर्षका सहबान खान २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परे । उनी पनि भारतबाट ब्राउन सुगर ल्याएर नेपाली युवाहरुमाझ विक्रि गर्ने गिरोहका सदस्य हुन । 


२०८० सालको कार्तिक १४ गते भारतको लखिमपुर जिल्ला सुरतनगर पञ्चायत अन्तर्गत ईन्द्रनगर बस्ने ३५ वर्षका प्रेम सिह ५ ग्राम ब्राउन सुगर सहित पक्राउ परे । ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सिहलाई पक्राउ गरेको हो । 


२०८० सालको असारको महिना धनगढीकी कमला देबी अवस्थी, कैलाली कारागारमा छोरालाई खाना दिन जाने बेला ब्राउनसुगर सहित पक्राउ परिन । उनका छोरा बुहारी ब्राउन सुगरकै कारोबारमा जेलमा थिए । उनलाई दिइएको ब्राउन सुगरपनि एकजना गुप्ता थरका भारतीयले कारगार पठाएको खुलेको छ । प्रहरी अहिले त्यसको खोजी गरिरहेको छ ।


आजको दिनसम्म कैलाली कारागारमा लागु पदार्थ ब्राउन सुगरको कारोबार गर्ने १८ जना भारतीय (तस्बिरमा नामहरु छन) राखिएका छन । ती मध्ये अधिकांस नेपालमै घुसेर ब्राउन सुगरको कारोबारी हुन । कैलाली कारागारको तथ्यांक हेर्ने हो भने १२ जना मध्ये ७ जना भारतको उत्तरप्रदेश राज्यको पिलिभीतका छन । 


सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक भरत बोहरा भन्छन ‘भारतको लखिमपुर जिल्ला र पिलिभितमा ब्राउन सुगरको रकेट छ । तर उनीहरुको सरहदमा हामीहरुले जानकारी दिन बाहेक केही गर्न सक्दैनौं ।’  


डिआईजी बोहराको सक्रियता
भरत बोहरा सुदूरपश्चिम प्रदेश प्रमुखको रुपमा २०७९ को चैतमा धनगढी आएका हुन । उनले लागुपदार्थको ओसार पसारमा ‘नो टोलरेन्स’ को नीति लिएका छन । उनले सुदूरपश्चिम प्रहरीका नेतृत्व सम्हालेपछि लागु पदार्थका कारोबारी र ओसारपसारमा संलग्न ७ सय ५६ जना पक्राउ परेका छन । त्यस अध्ये ४६१ जना विरुद्ध मुद्धा चलिरहेको छ । 
लागुपदार्थको कुरा गर्ने हो भने यस अवधीमा ब्राउन सुगर मात्रै ८ सय ९४ ग्राम ५०१ मिलिग्राम बरामद भएको छ । ‘यो ग्राममा भएपनि ठुलो मात्रा हो’ डिआईजी बोहरा भन्छन । ‘एक ग्रामको ब्यापार गर्नेहरु ३० हजार कमाउछन ।’ 
उनले २०७९ सालको चैत १६ गते यता साढे ७३ किलो चरेश बरामद भएको बताए । ‘चरेश पनि लागुपदार्थ नै हो तर अहिलेको भयावह अवस्था भनेको युवा पिढिमा ब्राउन सुगरको लत छ’ डिआईजी बोहराले भने । ‘अभिभावकले चनाखो हुन जरुरी भएको छ ।

कारोबारी समात्नै कठिन
ब्राउन सुगर भारतबाट मात्रै नेपाल आउने गरेको छ । प्रहरीले कैलाली र कञ्चनपुरको खुला सीमाना ब्राउन सुगर नियन्त्रणका लागि चुनौती रहेको जनाएको छ । प्रहरीले सीमा क्षेत्रमा मात्रै नाम र ठेगाना खुलेका १३ जनाको नाम नै सार्वजनिक गरी उनीहरुको खोजतलास गरिरहको छ । 


प्रदेश प्रहरी कार्यालयले भजनी क्षेत्रमा ब्राउन सुगरको कारोबार गर्ने ५ जना,  त्रिनगर नाकाको पारी रहेको बनगवाँका २ जना, पलियाका ३ जना बसै भन्ने स्थानका १ जना र रामपुरका २ जना ब्राउन सुगर कारोबारी (सबैको नाम ठेगाना तस्बिरमा छ) सार्वजनिक गरेको छ । 
नेपाल प्रहरीले ग्राहक बनेर उनीहरुलाई सीमा नाका नजिक बोलाएर पक्राउ गर्ने पटक पटक प्रयास गरेपनि उनीहरु नेपाल तर्फ नआउने गरेकाले पक्राउ गर्न नसकिएको डिआईजी बोहराले बताए । 


‘नेपालमा अनउदैनन, दुई देशको सीमा बैठकका बेला काउन्टरपार्टलाई सबैको नाम ठेगाना दिईन्छ तर अहिलेसम्म एक जना पनि पक्राउ परेको जानकारी आएको छैन’ डिआईजी बोहराले भने । ‘भारतमा ब्राउन सुगरको कारोबार हुदैन, सबै आउने भनेको नेपालतिर नै हो । त्यसैले भारतीय प्रहरीले चासो दिदैन ।’

ब्राउन सुगर सहित पक्राउपर्नेमा ‘टीनऐजर’ बढी
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार लागुपदार्थमा पक्राउ परेका मध्ये अधिकांस टीनएजर छन । आर्थिक वर्ष २०७९÷८० मा लागुपदार्थ सहित पक्राउ परेका कुल ८६३ जना मध्ये १६ देखि २० वर्ष उमेर समुहका २३४ जना छन भने २१ देखि २५ उमेर समुहका ३३० जना छन ।

९ जना नाबालक पनि लागुपदार्थको ओसारपसारमा पक्राउ परेका छन । २० देखि ३० वर्ष उमेरसमुहको संख्या १५८ रहेकोमा ५० वर्ष भन्दा माथि पक्राउ परेका १९ जना मत्रै छन । ३१ देखि ४० उमेर समुहका ६६ र ४१ देखि ५० उमेर समुहका पनि ४७ जना रहेका 
छन ।


डिआईजी बोहरा भन्छन, ‘ब्राउन सुगरको कारोबार र ओसारपसारमा ९० प्रतिसत युवाहरु छन । ३० वर्ष मुनीका ९० प्रतिसत युवाहरु आफु खान र आफुले खाने खर्च जुटाउन काराबार पनि गरिरहेका छन ।’