Skip to main content

पार्टीलाई चेन अफ कमाण्डमा चलाउनुपर्ने बेला आएको छ : लेखराज भट्ट

Submitted by editor on
भीम रावलले पार्टीको विचारमा बाँधिएका आम कार्यकताहरुलाई खासै फरक पार्न सक्दैनन । एमालेका कार्यकर्ता उहाँको गन्तब्यहीन यात्रामा सहभागि हुदैनन जस्तो लाग्छ ।
शिवराज भट्ट
लेखराज भट्ट

नेकपा एमाले पार्टीको अहिलेको अवस्था के हो ? 
– पार्टीको अवस्था एकदम ठिक छ तर नेतृत्वमा एकरुपता आउन जरुरी छ । यहाँका समस्याहरुसँग जोडिएर समग्र पार्टी नेतृत्वले पार्टीभीत्रका समस्या पनि समाधान गर्न जरुरी छ । पार्टी संगठन सुदृढीकरणका लागि हामीले मिशन ग्रासरुट, झुलाघाट देखि चिवा भञ्ज्याङ (मध्यपहाडी लोकमार्ग) यात्रा, जरा अभियान सञ्चालन गरेका छौं । त्यसले पार्टीलाई जनतासँग जोडने काम गरेको छ । 

उदाहरणका लागि, हामीले ‘मिशन ग्रासरुट’ अभियान सञ्चालन गर्यौं । त्यसको उद्देश्य भनेको पार्टी पपुलर हुँदाहुँदै किन पराजित भयो ? भन्ने कुराको खोजी गर्नु थियो । नेतृत्व अथवा हाम्रो पार्टी अध्यक्षको लोकप्रियता हुँदाहुँदै पनि हामी चुनावमा किन पराजित भयौं ? भन्ने कुराको खोजी गर्नु थियो । नेतृत्वले ग्रासरुटमै पुगेर त्यसको खोजी गरे । निष्कर्षमा के आयो भने पार्टीभीत्रै समस्या देखियो । पार्टीको आन्तरिक समस्याले नै सबै पराजित भएको देखियो । पराजित हुनुमा बाह्य कुराहरु सहायक देखिए । चित्त बुझाउनका लागि हामीले पाँच दलको गठबन्धनका कारण हामी पराजित भयौं भनेर चित्त बुझाएपनि हामी पार्टीभीत्र म भए ठिक अरु सबै बेठिक भन्ने प्रबृतीको विकास भएका कारण पराजित भयौं भन्ने निस्कर्ष आयो ।

सुदूरपश्चिममा पनि पार्टी नराम्रोसँग पराजित भयो, त्यसको कारण पनि आन्तरिक समस्या नै थियो ?
–एकदमै । हामीले भन्ने बेला पाँच दलको गठबन्धनका कारण पराजित भईयो भन्यौं तर त्यो सहायक थियो भन्ने लाग्छ ।  ‘मिशन ग्रासरुट’ अभियान पछि आएको निष्कर्षमा पार्टी केन्द्रले चुनावका बेला अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने भन्यो । तर हामीले कसैलाई पनि कारवाही गर्न सकेनौं । पार्टीको १० औं महाधिवेशनले पनि के भनेको थियो भने अहिलेको पार्टीभीत्रको मूल समस्या भनेको दक्षिणपन्थी अवसरवाद र पार्टीभीत्रको संगठनात्मक अवसरवाद हो । आत्मकेन्द्रित प्रबृती बढ्यो । जसले पनि आफुलाई मात्र केन्द्रमा राखेर कुरा गर्छ, पार्टीलाई केन्द्रमा राख्दैन । म के हुने ? म के पाउछु ? मेरो मान्छे भन्छ, पार्टीको मान्छे भन्दा पनि मेरो मान्छ भन्छ । त्यसले पार्टीलाई बलियो बनाईरहेको छैन । सुदूरपश्चिममा मात्रै होईन, देशभरी यस्तो प्रबृती बढीरहेको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ अभियानले के दियो पार्टीलाई ?
–झुलाघाट–चिवाभञ्ज्याङ यात्रा पनि ‘मिशन ग्रासरुट’ कै पूरक अभियान थियो । पार्टी अध्यक्षकै नेतृत्वमा त्यो अभियान चल्यो । मैले त्यसको मूख्य सकारात्मक पाटो के देखे भने पार्टी अध्यक्षको आत्मबल, सक्रियता र ईच्छाशक्ति । हामी युवा नेताहरु भनिएकाहरु त्यस अभियानमा थकित भयौं होला तर अध्यक्षको आत्मबल, सक्रियता र ईच्छाशक्ति नै हाम्रा लागि प्रेरणा थियो । हामीले अध्यक्षको आत्मबल, ईच्छाशक्ति र सक्रियताको पाठ त्यहाँबाट लिनसक्छौं ।  त्यो उहाँबाट लिनसक्ने प्रेरणा थियो ।
त्यस अभियानको मुख्य उद्देश्य भनेको पहाड किन खाली भईरहेको छ भन्ने कुरा पत्ता लगाउनु थियो । त्यहाँ उत्पादन किन बढाउन सकिएन ? त्यहाँ रोजगारीको सिर्जना किन गर्न सकिएन ? मध्यपहाडको समस्या के हो ? भन्ने कुरा पत्ता लगाउनु थियो । साथसाथै मध्य पहाडमा जनताले कस्तो खालको विकास खोजेको छ ? त्यहाँको कृषि प्रणालीको विकासका लागि के गर्न सकिन्छ  ? रोजगारीको सिर्जना कसरी गर्ने ? अथवा पहाडको माईग्रेशन कसरी कम गर्ने ? भन्ने योजना बनाउनु थियो । पार्टीले त्यसको योजना बनाएको छ । अहिले सरकारको नेतृत्व पनि पार्टी अध्यक्षले नै गर्नु भएको छ । यसपालीको बजेटमा मध्यपहाडले प्रार्थमिकता पाउने आशा गरिएको छ ।

पार्टीका लागि मात्रै होईन, देशभरी नै चर्चामा रह्यो नी मध्यपहाडको यात्रा त ?
– एकदमै ! हामी भोट माग्न मात्र जनताको घरदैलोमा गईरहेका रहेछौं । जनताले नेताहरु विकासको योजना बनाउन पनि घरदैलोमा आउन भन्ने चाहदा रहेछन । मध्य पहाडको यात्रा एमालेको मात्रै थियो । त्यसमा एमालेकोे नेतृत्व र नेताहरु मात्रै थिए तर त्यस अभियानको उद्देश्य जनतालाई विकासको मूलधारसँग जोडनु थियो । त्यस अभियानमा प्रतिपक्षी दल वा फरक विचार बोकेका दलका नेताहरुको पनि पूर्ण समर्थन पाईयो । सिद्धान्त, विचार हामीले जे बोकेपछि जनताको जनजिविकाका कुराहरुमा सबै माया गर्दारहेछन भन्ने कुरा त्यस अभियानको सकारात्मक पाटो हो । पार्टी अध्यक्षलाई फरक विचार भएका दलहरुले पनि विभिन्न स्थानमा स्वागत गरे । फरक विचार र सिद्धान्त बोकेका नेता कार्यकर्ताहरु पनि अभियानमा सहभागी भए । त्यो भनेको देश बनाउने अभियान थियो । पार्टी अध्यक्ष प्रति धेरैको आशा देखियो । दैलेखमा त सर्वदलीय डेलिगेशन नै आयो । अरु दलहरुको आशा पनि पार्टी अध्यक्षप्रति देखियो । 

एमालेले वडा केन्द्रित अभियान पनि सञ्चालन गरेको थियो, त्यसको उद्देश्य के थियो ?
– वडा केन्द्रित अभियान भनेको नेताहरुले वडा वडामा जाने, पार्टी सदस्यता बढाउने भन्ने थियो तर म सुदूरपश्चिमको कुरा मात्रै गर्छु । केही जिल्लामा त वडा केन्द्रित अभियान राम्रो सँग सञ्चालन भयो तर केही जिल्लाको अभियानमा भने म सन्तुष्ट हुन सकेको छैन । पहाडि जिल्लाहरु बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलामा यो अभियान राम्रो भएकोे छ । डडेल्धुरा र डोटीमा मध्यम खालको भएको छ । तर तराईका २ जिल्ला कैलाली र कञ्चनपुर जहाँ भौगोलिक समस्या पनि छैन, यी २ जिल्लामा भने सोचे अनुसार भएको छैन । राजनीतिक रुपमा हेर्ने हो भने सुदूरपश्चिमका ७ पहाडि जिल्ला र तराईका २ जिल्ला बराबर हो । कैलाली र कञ्चनपुरमा प्रदेश सभामा १६ र प्रतिनिधि सभामा ८ वटा सीट छ । तर पार्टीभीत्र समस्या यी २ जिल्लामै बढि देखिएको छ । आगामी चुनाव जित्ने हो भने यहाँको समस्या समाधान गर्नुपर्छ ।

यी तीन वटा अभियान पछि पार्टीको निस्कर्ष के आयो ?  
– यी तीनवटा अभियानले के देखाउछ भने जनतामा अझै पनि एमाले प्रति आशा छ । केही गर्छ भने एमालेले गर्छ भन्ने कुरा उनीहरुमा छ । पार्टीका नेतृत्व तुलनात्मक रुपमा अरु पार्टीभन्दा ठिक छ भन्ने जनतामा आशा छ । तर पार्टीभीत्र केही कमिकमजोरी छन । अभियानमा पार्टीले जसरी घरदैलो गर्नुपथ्र्यो त्यो गर्न सकेको छैन । हामीले हाम्रै पार्टी कार्यकर्तालाई मात्र परिचालन गरिरहेका छौं, बैठकहरु, प्रशिक्षणहरु, जनबर्गिय संगठनका कमिटिहरु निर्माण गर्ने, नयाँ कमिटिहरु निर्माण गर्ने यी कुरा त भए तर जनताकै घरदैलोमा गएर एमाले के हो ? एमाले किन आवश्यक छ ? एमालेले गरेका विकासका कामहरु यी हुन ? हामीले के के सच्याउनुपर्छ ? कमिकमजोरीहरु काँ भए ? पार्टी नेतृत्वको काँ भयो, हाम्रो काँ भयो ? भन्ने कुरा जसरी वडा केन्द्रित अभियानले ल्याउनु पथ्र्यो, त्यसरी भएको छैन । 

कम्युनिस्टहरुको त के हो भने पार्टी सदस्यता लिईसकेपछि त्यो लिडर हो । माथिको लिडरको कमीकमजोरी के के  हुन ? तलको लिडरको के के हुन ? सच्चाउदै जाने र रुपान्तरण हुदै जानुपर्छ । यस्तो गरियो भने हामीले भनेको ‘मिशन ८४’ जित्छौं ।

सुदूरपश्चिममा २०७४ सालको एमाले र २०७९ सालको एमाले ! पोजिसन घटेको होईन ?
– पोजिसन तलमाथि भएको छ । त्यो त चुनावको नतिजाले नै देखाएको छ नी । तर हामी ५ दलको गठबन्धनका कारण हारेका होईनौ, त्यो मैले अघि पनि भनिसके । एमाले हार्नुको प्रधान कारण भनेको आन्तरिक समस्या हो । सहायक अरु होला । त्यसैले त्यसलाई हामीले सच्याउन जरुरी छ । अर्को के भने अहिले पार्टीले वडामा ३ प्रतिसत मतदाता पार्टी सदस्य बनाउने, पालिकामा ६ प्रतिसत मतदातालाई पार्टी सदस्य निर्माण गर्ने लक्ष्य लिएर वडा केन्द्रित अभियान चलाएको छ । यो भनेको त भएका पार्टी सदस्यता नविकरण गर्ने र अरुलाई सदस्यता दिएर बढाए मात्रै सम्भव छ । तर अहिले त्यस्तो भईरहेको छैन । पार्टी एकता भयो, अहिलेको एमाले भनेको नेकपा एकिकरणको निरन्तरता हो । तर पार्टीभीत्र त्यो देखिदैन । अहिले यहाँ के देखिन्छ भने यो त माओवादी, यो त समाजवादी अथवा यो अर्कोवादी । बाहिरबाट आएको ब्यक्तिलाई सरणार्थी ठान्ने हो भने कसरी पार्टीले दिएको वडामा ३ प्रतिसत र पालिकाका ६ प्रतिसत पार्टी सदस्यता पुग्छ त ? त्यही कारण हो हामी २०७९ मा पराजित भएको । २०८४ जित्ने हो भने त्यसलाई हामीले सच्याएर जानुपर्छ । 

अहिले पार्टी अध्यक्षको निर्देशन के हो भने ‘भाँडो खाली गर’ । यो भनेको त अरु पार्टीबाट सदस्यहरु ल्याउने हो, प्रवेश गराउने हो । तर सुदूरपश्चिममा त्यस्तो भईरहेको छैन । यहाँ तिब्र गुटबन्दी भईरहेको छ । त्यो गुटबन्दी हामीले भत्काउन सकेनौ भने भोली पनि हामी २०७९ कै अवस्थामा रहन सक्छौं । 

अहिले पार्टीभीत्र गणेश प्रबृती देखिएको छ । त्यो कस्तो भने, नेताका वरिपरि बस्ने, फोटो खिच्ने, सामाजिक सञ्चालमा हाल्ने, पार्टीको काम केही पनि नगर्ने, अवसरका बेला म मात्रै भन्ने अथवा मेरो मान्छे मात्रै भन्ने । पार्टी अनुशासनभीत्र नबस्ने । त्यसैले पार्टीको सिद्धान्त जनवादी केन्द्रियतालाई प्रयोग गर्नुपर्छ । कठोर बनेर जानुपर्छ, चेन अफ कमाण्डमा पार्टीलाई चलाउन जरुरी छ । पार्टी भीत्र म भन्ने होईन, हामी भन्नुपर्छ । पार्टीभीत्र सबैले अनुशासनमा बस्यो भने एकता पैदा हुन्छ ।

सुदूरपश्चिममा भीम रावलले के फरक पार्न सक्छन ?
– कुनै पनि ब्यक्तिलाई निर्माणका लागि पार्टीको ठूलो लगानी हुन्छ । भीम रावल बनाउन पार्टीको ठूलो लगानी पनि छ । पार्टीको सिद्धान्त र विचारले ब्यक्तिलाई गाईडेड गरेको हुन्छ । तर अहिले उहाँले सबै कुरा छोडेर अर्कै अभियान सञ्चालन गर्नु भएको छ । उनले पार्टीका विचारहरु त्यागीसक्नु भएको छ । उनले सञ्चालन गरेको मातृभूमी जागरण अभियान कुन विचार र सिद्धान्तले गाईडेड छ ? त्यो महत्वपूर्ण हो । त्यसको विचार के हो ? सिद्धान्त के हो ? राजनीतिक कुन दिशामा जान्छ, त्यसको संगठनात्मक सिद्धान्त के हो ? उहाँको राष्टबाद भनेको के हो ? उहाँले राष्टवादका बारेमा चर्का कुराहरु गर्नुहुन्छ । के का बारेमा राष्टवाद ? 
राष्टवाद भनेको सीमा मिचिएको कुरा मात्र हो की त्यो समग्रमा राष्टवाद हो ? सार्वभौमता, एउटा भोको पेटमा त्यो राष्टवाद टिक्न सक्छ की सक्दैन ? राष्टियतालाई बलियो बनाउने भनेको जनताको जीवनस्तर माथि उठाउने, सशक्त बनाउने, रोजगारी सिर्जना बनाउने, अधिकार सम्पन्न बनाउने, आर्थिक गतिविधिमा जनतालाई जोडने नै राष्टवाद हो । तर भारतले सीमा मिचेको कुरा मात्रै राष्टवाद हो र भन्या ?

उहाँ धेरै पटक मन्त्री भईसक्नु भएको नेता हो । उहाँ केही होईन त म भन्न सक्दिन, केही त उहाँ हो । त्यसैले पार्टीको विचारमा बाँधिएका आम कार्यकताहरु केहीलाई प्रभावित पारेपनि उहाँले ठूलो फरक भने पार्न सक्दैनन, एमालेका कार्यकर्ता उहाँको गन्तब्यहीन यात्रामा सहभागि हुदैनन जस्तो लाग्छ ।

अर्को प्रसंग, अहिलेको सरकारको बन्ने बेला देखि नै विरोध सुरु भयो, किन होला ?
– ६÷६ महिनामा सरकार परिवर्तन हुन थाले । यसमा बाह्यशक्तिको पनि हात छ । हाम्रो राजनीतिक अस्थिरताले उनीहरु आफ्नो अभिष्ट पुरा गरिरहेका होलान, अर्को कुरा हाम्रो आन्तरिक समस्या पनि छ । मैले सत्तामा कसरी जाने, अथवा मैले मात्रै कसरी सत्तामा टिकिराख्ने प्रबृतीले यस्तो भएको हो जस्तो लाग्छ । यसलाई गम्भिरतपूर्वक लिएर नै दुई ठुला दलहरु एक ठाउँमा उभिएका हुन । हिजोका दिनमा पनि काँग्रेस एमाले ठूला समस्याका बेला एक ठाउँमा उभिएकै हुन । देशमा देखिएको आर्थिक मन्दी होस, चुच्चे नक्सा होस, कोरोना होस, नेपालमा संकट पर्दा एमाले र काँग्रेसले ती राष्टिय समस्याको समाधानका लागि एक ठाउँमा उभिएको इतिहास छ । संविधानमा आएका केही संसोधन गर्न पनि दुई पार्टी एक स्थानमा उभिएका छन । यसपाली देशमा स्थाईत्वका लागि एमाले र काँग्रेस एक ठाउँमा आएका हुन । जुन कुरा धेरैलाई पचेको छैन । आन्तरिक रुपमा पनि पचेको छैन, बाह्य रुपमा पनि पचेको छैन । 

जस्तो काँग्रेसभीत्रै पनि हेर्नुन । पार्टी सरकारमा गएको छ तर नेताहरु प्रतिपक्षको जस्तै गरिरहेका छन । एमालेमा त्यस्तो हुदैन । एमालेको कमिटिमा छलफल होला तर बाहिर यस्तो हुदैन । त्यसैले पनि सरकारको आलोचना भएको जस्तो देखिएको हो । 

पछिल्लो समय राजावादीहरु प्रतिको लगाव बढिरहेको छ जस्तो लाग्दैन ?
– तपाईले भनेझैं देखिएको त छ । उनीहरुको सक्रियता बढेको छ । तर गणतन्त्र बाहेकको अर्को विकल्प हुँदै हुदैन । तर दलहरुमा पनि समस्या छन, दलहरुले जनतामा जाने, गरेका विकासका कामहरु जनता माझ लैजाने, जनताको आर्थिक अवस्था कसरी माथि उकास्ने, विदेश पलायन कसरी रोक्ने ? भन्ने खालका योजनाहरु जनतासम्म पुगेनन । यी योजना बनाएर जनतासम्म लैजाने काम दलहरुले गर्नुपथ्र्यो । पञ्चायतकालमा भएका विकास कस्ता थिए, कति थिए ? गणतन्त्र आएपछि विकास कसरी भएको छ ? यी कुराहरु दलहरुले जनतासम्म पुगाउन सकेनन । धेरै परिवर्तन त भएको छ नी । तर हामीले जनतामाझ पुगाउन सकेनौं । त्यसले पश्चगामी शक्तिलाई टाउको उठाउने अवसर मिल्यो ।

सुदूरपश्चिम प्रदेश सरकारको गती सुस्त भए जस्तो लाग्दैन ? तपाई त संयन्त्रमा पनि हुनुहुन्छ ।
– हो, प्रदेश स्तरीय राजनीतिक संयन्त्रमा म पनि छु । तर त्यो संयन्त्र पनि त्यती सक्रिय हुन सकेको छैन । सरकारको काम किन ढिलासुस्त भयो ? त्यसलाई गतिशील बनाउन के गर्नुपर्छ ? भन्ने कुराको पर्यात्त सरसल्लाह हुन र गृहकार्य हुन आवश्यक छ । त्यहाँ म भन्ने प्रबृती छ । जस्तो की ठुलो दल भएका कारण मुख्यमन्त्री काँग्रेसका छन, उनले आफ्नो मन्त्रालयबाट केही पनि दिन चाहन्नन, अरु मन्त्रालयबाट अपेक्षा राख्छन । 

चुनाव जितेपछि पार्टी  के हो र ? भन्ने प्रबृती बढेको छ । संघमा पार्टी अध्यक्षले त्यसलाई नियन्त्रण गर्नुभएको छ तर प्रदेशस्तरमा भने पार्टीको निर्देशन मानेको, पार्टीसँग सरसल्लाह गरेको जस्तो लाग्दैन । त्यसैले अहिले सरकारको कामकाज पनि सोचेजती प्रभावकारी हुन सकेका छैन । राजनीतिक संयन्त्रले हो नी सरकारलाई सुझाव दिने, काम गर्न अभिप्रेरित गर्ने तर संयन्त्रको निर्देशन र सरसल्लाह नै लिइएन भने कामकाज सुस्त भईहाल्छ नी ।

तपाईसँग कुराकानी गर्दै जाँदा शहीद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक सर्वसम्मतले पारित भएको छ ? यसपाली देखि चिकित्सा शिक्षाको अध्ययन होला ?
–होला होईन, हुनुपर्छ । गेटामा मेडिकल कलेलको सपना देख्ने मान्छे म हो । यसको निर्माणका लागि मेरो दौदधुप कसैलाई थाहा छैन होला । मैले आफुले गरेको काम भन्दै हिडदिन । तर एउटा कुरा के हो भने जन्माउने मान्छे, अथवा मेडिकल कलेजको जग हाल्ने मान्छे भएकाले त्यो समयमा भएन भने पिडा हुँदो रहेछ । म पिडामा थिए । राष्टिय सभाबाट विधेयक उत्पत्तीको कुरका होस की शिक्षा विज्ञान प्रविधि समितिमा दफावार छलफलका बेला होस मैले यसलाई छिटो पारित गराउने प्रयास गरिराखे । हाम्रो पार्टीको नेतृत्व पनि यसमा सकारात्मक रुपमा लागिरह्यो । अहिले विधेयक सर्वसम्मतीले पारित भएको छ । अब आउदो शैक्षिकसत्र देखि चिकित्सा शिक्षाको अध्यापन हुुनुपर्छ ।

चिकित्सा शिक्षाको अध्यापन मात्रै होईन, यस विश्वविद्यालयमा हाम्रा परम्परागत उपचार पद्दती, आयुर्वेद, यस क्षेत्रमा पाउने जुनेटिक रोगहरुको अन्वेषण र अनुसन्धान हब यसलाई बनाउनुपर्छ । भारतका दुई वटा राज्य उत्तरप्रदेश र उत्तराखण्ड जोडिएको छ । भारतीय विद्यार्थीहरुलाई आकर्षित हुने गरी विश्वविद्यालयले कार्यविधि बनाउनुपर्छ । यसलाई मेडिकल पर्यटन हव बनाउनुपर्छ । भरतको राजधानी दिल्ली र उत्तरप्रदेशको राजधानी लखनउ ६ घण्टाको दूरीमा छन । त्यसैले भारतलक्षित गरी कार्यक्रम बनाउनुपर्छ ।

तपाई सुख्खा बन्दरगाहको परिकल्पनाकार, त्यसको काममा सुस्तता भएजस्तो लाग्दैन ?
– सुदूरपश्चिममा एउटा पनि बैध नाका थिएन । मैले वाणिज्य मन्त्री भएका बेला त्यसको योजना बनेको हो । बैध नाका भन्नाले यस नाकाबाट ठुलो समानहरु आयात र निर्यात गर्न पाउदैन । जस्तोकी कार, मोटरसाईकल, अरु विलासिताका सामान यस नाकाबाट आयात निर्यात हुदैनन । त्यसका लागि दुबै देशले तोकेको बैध नाका हुनुपर्छ । सुदूरपश्चिममा त्यो नभएपछि मलाई दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको आईडिया आएको हो । अहिले त्यसको निर्माणको धेरै काम अघि बढिसकेको छ । दुबै देशको पहुँच मार्गहरु बनिसकेको छ । बन्ने स्थानको रुख कटानको निर्णय भएर भारतले त्यसको ठेक्का पनि लगाई सकेको छ । भारत सरकारले त्यसको निर्माणको काममा तिब्रता नै दिएको छ ।