Skip to main content

कैलालीको गोदावरी धाममा मकरमेलाको आयोजना

Submitted by editor on
कुम्भ बाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाइ दर्शन एवं पूजाको व्यवस्था गरिएको छ ।
ईबिगुल संवाददाता
मकर मेला

धनगढी : महाकुुम्भ स्थल कैलालीको गोदावरी धाममा बाह्र राशी दर्शन मकर मेला शुरु भएको छ । मकर मेलाको आईतबार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे । मेला अगामी १२ दिनसम्म चल्नेछ । प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भ मेलाको प्रतिकका रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरिको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।

उनका अनुसार धाममा बाह्र राशीको स्थापना गरि प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा धाममा स्थापना गरिएको कुम्भ बाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाइ दर्शन एवं पूजाको व्यवस्था गरिएको छ ।

मकर मेलामा सुदूरपश्चिमसहित सीमावर्ती भारतका विभिन्न ठाउँवाट भक्तजन आउने गर्छन् । गोदावरी धाम विकास समितिकाअनुसार आइतबार बिहानैदेखि भक्तजनहरु धाम पुग्ने क्रम सुरु भईसकेको छ । 

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुसार महाकुम्भपछि मकर मेलाको आयोजना गरीएको आयोजकले जनाएको छ । मकर संक्रान्तिका अवसरमा माघ १ गते गोदावरी धाममा स्नान गर्ने भक्तजनहरुको समेत घुइँचो लाग्ने गर्दछ ।

भक्तहरुको सजिलोका लागि गोदावरी नगरपालिकाले अत्तरिया देखि धामसम्मका लागि निशुल्क यातायातको ब्यवस्था गरेको छ । त्यसका लागि ६ वटा बसको ब्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।