बैतडी : २०७९ सालको कात्तिकमा डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प आयोे । त्यो भूकम्पबाट ६ जनाको ज्यान गयो भने दर्जनौ घरहरु भत्किए । त्यसपछि बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्यूटको भूकम्पमा परी एक जनाको ज्यान गयो, दुई जना घाईते भए । त्यस भूकम्पले पनि बाजुरा र बझाङका स्थानीयका दर्जनौ घरहरु भत्कायो । बाजुराको विच्यां क्षेत्रमा बढी क्षती भयो ।
भूकम्पीय मापनका हिसाबले ६ देखि ७ म्याग्नेच्यूटका भुकम्पलाई मध्यमस्तरको भूकम्प भनिन्छ । ६ म्याग्नेच्यूट भन्दा साना भूकम्पलाई साना भुकम्प भन्ने गरिएको छ । भूकम्पले तत्कालै मानव निर्मित भवन लगायतका संरचनाले क्षती पु¥याउने गर्दछ भने दीर्घकालीनरुपमा बाढी तथा पहिरोको जोखिम बढाउने गर्दछ ।
साना भूकम्पका कारणले पनि जनधनको क्षती भइरहदा नयाँ बन्ने गरेका संरचनामा सबैपक्षले ध्यान दिनुपर्ने देखिएको छ । बैतडीका मूख्य बजार क्षेत्रमा बनेका ठूला संरचनाहरु भूकम्पीय जोखिममा रहेका छन् । प्राबिधिकहरुका अनुसार नयाँ बनेका संरचनामा मापदण्डको पालना नहुने गरेको पाइएको छ ।
३ तलाभन्दा ठुलो संरचना बनाउदा अनिवार्य माटो परिक्षण, नक्सा पास लगायतको प्रक्रिया आवश्यक पर्दछ तर बजार क्षेत्रमा पनि कुनै घरधनीले नक्सा पास तथा माटो परिक्षण लगायतको प्रक्रिया नपु¥याउने गरेको दशरथचन्द नगरपालिकाको प्राबिधिक शाखाले जनाएको छ ।
पहाडि जिल्लाका घरधनीहरुले बैंकीङ कारोबारका लागि मात्रै नक्सा पास गर्ने गरेका छन् । जिल्लाको सदरमुकाममा रहेका दशरथचन्द नगरपालिकाको गढी, गोठलापानी, शाहिलेक बजार, पाटन नगरपालिकाको पाटन बजार र खोडपे बजारमा बन्न लागेका संरचनाहरु भूकम्पीय जोखिममा रहेका प्राविधिकहरुले बताएका छन् । पाटन बजार र खोडपे बजारमा बन्ने गरेका अधिकांस संरचनाहरु भूकम्पीय जोखिममा रहेका पाटन नगरपालिकाका सब–इन्जिनियर दिनेश ऐरले बताए ।
‘बजार क्षेत्रमा आफ्नै तरिकाले घरहरु बनाईने गरिएका छन, स्थानीय तहबाट नक्सा पास गरिदैन’ उनले भने । घरको जग बसाल्ने देखि संरचना सम्पन्न भइसक्दासम्म प्राबिधिकहरुको सल्लाह लिनुपर्ने भएपनि त्यो नुहने गरेको उनले बताए ।
जिल्लामा स्थानीयतहहरुले सेवाक्षेत्रभित्र रहेका घरहरुको अभिलेख संकलन गरीरहेका छन् । निर्माण गरिएका घरहरुको अवस्थाका बारेमा अभिलेखिकरण समेत गरिएको पाटन नगरपालिकाले जनाएको छ । अभिलेखिकरणका क्रममा अधिकांस संरचनाहरु भूकम्प प्रतिरोधी नरहेको नगरपालिकाले जनाएको छ । नक्सा पास नगरेपनि घरहरु निर्माणमा देखिएका कमी कमजोरीकोबारेमा घरधनीहरुलाई जानकारी गराउने गरिएको छ ।
सरकारी भवनहरु भुकम्प प्रतिरोधी नै हुने गरेको शहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडीका प्रमुख लाल सिंह बिष्टले दाबी गरे । ‘हाम्रा मातहत बन्ने भवन तथा संरचनाहरु अनिवार्य भूकम्प प्रतिरोधी निर्माण गर्छौ’ उनले भने । ‘स्थानीय तह मातहत बन्ने संरचनाको बारेमा हामीलाई जानकारी छैन ।’
२०३७ सालमा बझाङ केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको थियो । त्यसपछि पनि २०५८ सालमा सुदूर पहाडमा ठूलो भूकम्प गएको थियो । त्यसबेला ठूलो जनधनको क्षती भएको थियो । यसरी बेलाबेला गएको भूकम्पका कारण ठुलो जनधनको क्षती भएपनि संरचना निर्माणमा भने ध्यान नदिने गरेको पाइएको छ ।