Skip to main content

धनगढीका श्रृंगार ब्यापारीद्वारा आफ्नै घरको छतबाट हाम फालेर आत्महत्या

Submitted by editor on
ईबिगुल संवाददाता
आत्महत्या

धनगढी : धनगढीमा श्रींगारको उत्पादनका होलसेल ब्यापारी सन्तोष अग्रवालले आफ्नो घरको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेका छन । आज विहान साढे ११ बजेतिर उनले धनगढी उपमहानरपालिका वडा नम्बर ४ बसपार्कको पश्चिमतिर रहेको आफ्नै निवासको पाँचौं तलाबाट हाम फालेका हुन । 

आफन्तहरुका अनुसार सन्तोष र उनका कान्छा छोरा–बुहारीबीच भागबण्डाका विषयमा विवाद भईरहेको थियो । सन्तोषले आफ्ना कान्छा छोराको केही महिना अघि मात्रै विवाह गरेका थिए । उनका जेठो छोरा बुहारी काठमाण्डौं बस्छन ।

‘ससुरालीमा रहेका कान्छा छोरा आज विहान मात्रै बसपार्क स्थित घरमा आएका र केही विवाद भएको रहेछ । अनी सन्तोषले आफ्नै घरको पाँचौ तलाबाट हाम फाले’ एकजना आफन्तले भने । 

सन्तोषले हाम फाल्ने बेला स्थानीयले देखेका थिए । उनलाई हाम नफाल्न भनिएपनि उनले छतबाट हाम फालेका थिए । उनको हाम फालेको भिडियो सार्वजनिक भएको छ । 

हाम फालेपछि घाईते भएका सन्तोषलाई नवजीवन अस्पताल लगिएको थियो । अस्पतालले मृत घोषणा गरेपछि उनको सेती प्रादेशीक अस्पतालमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले बताए । उनले घटनाको अनुसन्धान भईरहेको बताए ।