Skip to main content

खगराज हटाएर धामी दलको नेता भएको जानकारी मुख्यमन्त्रीलाई

Submitted by editor on
ईबिगुल संवाददाता
खगराज हटाएर धामी दलको नेता भएको जानकारी मुख्यमन्त्रीलाई

धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दल र पार्टी विचको विवाद बढदै गएको छ । पार्टी प्रदेश कमिटिले संसदीय दलको नेता हेरफेरको निर्णय सच्चाउन निर्देशन दिएपनि बहुमत प्रदेश सभा सदस्यहरुले त्यो निर्देशनको अवज्ञा गरेका छन ।

पार्टी र संसदीय दलका बीच विवाद बढदै गईरहेका बेला सुदूरपश्चिम प्रदेश सभा सचिवालयले भने नेकपा माओवादी केन्द्रको संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई गराएको छ ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका छन् ।

उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको पत्र आएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई त्यसको जानकारी सहितको पत्र पठाएको छ । 

शुक्रवार भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यले निर्णयमा हस्ताक्षर गरेका थिए । ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एक जना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णय गरेको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जानकी देवी कुँवर अनुपउपस्थित थिए ।

बहुमत प्रदेश सभा सदस्यहरूले गरेको निर्णयले अहिले पार्टी भित्र तरंग पैदा भएको छ । प्रदेश पार्टीले उक्त निर्णय सच्चाउन निर्देशन दिएको छ भने बहुमत प्रदेश सभा सदस्यहरूले प्रदेश पदाधिकारीको बैठकलाई नै अवैधानिक भएको दाबी गर्दै आएका छन ।