Skip to main content

आर्थिक मामिला मन्त्रीको भ्रमण : काठमाण्डौं १०७ दिन, प्रदेशमा १२ दिन

Submitted by editor on
शिवराज भट्ट
 काठमाण्डौं १०७ दिन, प्रदेशमा १२ दिन

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले ११ महिनामा गरेको २३ पटकको काठमाण्डौं भ्रमणमा १०७ दिन खर्चेका छन । जबकी उनले आफ्नै प्रदेशमा भने दुुई पटक मात्रै भ्रमण गरेका छन । त्यो पनि उनको आफ्नै चुनाव जितेको गृहजिल्ला बाजुरा ।

आर्थिक मामिला मन्त्रालयले दिएको तथ्यांक अनुसार उनले २०७९ सालको फागुन ८ गते देखि १४ गते र २०८० सालको कार्तिक १५ गते देखि १९ सम्म दुुई पटक बाजुरा जिल्लाको मात्र भ्रमण गरेका हुन । दुुबै पटकको भ्रमणमा उनले आफुले जितेको र मन्त्री बनाएको प्रदेशमा १२ दिन मात्रै खर्चेका छन ।

२३ पटकको उनको काठमाण्डौंको बसाईमा भने उनले ३ महिना १७ दिन अथवा १०७ दिन खर्चेका छन । पूर्व आर्थिक मामिला मन्त्री झपट बहादुर बोहरा भन्छन, ‘बजेट बनाउने निकायले आफ्नो प्रदेशको अवस्था बढी बुुझनुुपर्छ, राजधानी भन्दा पनि प्रदेशभीत्र बढी भ्रमण गर्ने हो ।’ 
पूर्वमन्त्री बोहराले, काठमाण्डौंको भ्रमणहरुले सुदूरपश्चिमका जनताले के पाए भन्ने कुराको पनि मन्त्रीहरुले पुष्टि गर्नुपर्ने बताए ।

 ‘भ्रमण औचित्य र आवश्यकताका आधारमा हुनुपर्छ । भ्रमण मितब्ययी हुनुपर्छ तर पार्टीका नेता रिझाउन गरिएको भ्रमणहरु जनताको हितमा हुन सक्दैनन, साच्चै प्रदेशका जनताको सुखसुविधाका लागि भ्रमण गरिएको हो भने त्यसको औचित्य पुष्टि हुनुपर्छ ।’

उनले आर्थिक मामिला मन्त्रीको ११ महिनाको जति भ्रमण आफ्नो साढे ३ वर्षको कार्यकालभरी पनि नभएको बताए । ‘त्यतीबेला सबै संरचना नयाँ थिए, हामीले सबैलाई भेटनुपथ्र्यो, कानून बनाउने त्यत्तीकै चटारो थियो, तर पनि हामीले त्यती धेरै काठमाण्डौंको भ्रमण गरेनौं, अहिले मुख्यमन्त्री र मन्त्रीहरुमा संघीय राजधानी जाने प्रतिस्पर्धा चलिरहेको जस्तो देखिएको छ’ बोहराले भने ।

प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, ११ महिनामा २२ पटक काठमाण्डौं गएको तथ्य यसअघि नै सार्वजनिक भएको थियो । मुख्यमन्त्री शाहलाई काठमाण्डौं बढी जाने गरेको आरोप लागिरहेका बेला आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले उनको भन्दा पनि एक पटक बढी भ्रमण गरेर रेकर्ड ब्रेक गरेका छन ।

आर्थिक मामिला मन्त्री शाहीले अधिकांस महिना तीन÷तीन पटक काठमाण्डौंको भ्रमण गरेका छन । २०७९ सालको चैतमा उनी २ गते, १३ गते र २६ गते गरी तीन पटक काठमाण्डौं गएका छन । 

२०८० को साउनमा पनि उनी तीन पटक काठमाण्डौं गएका छन । साउनको १ गते, १२ गते र २६ गते उनी काठमाण्डौं गएका छन । त्यो तीन पटकको भ्रमणमा उनी १८ दिन काठमाण्डौं बसेका छन । 

२०८० सालको मंसिरमा पनि उनी तीन÷तीन पटक काठमाण्डौं उडेका छन । मंसिरको  ५ गते, २० गते र २९ गते गरी तीन पटक मन्त्री शाही काठमाण्डौं उडेका हुन । 

अर्का पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङ भन्छन, ‘जनताले सांसदलाई आफ्नो क्षेत्रको विकासका लागि पठाएको हो । मन्त्रालयमा उपलब्ध होस भनेर पठाएको हो । सांसदले कम्तीमा पनि आफ्नो जितेको क्षेत्रभीत्र र मुख्यमन्त्री मन्त्रीहरुले प्रदेशको भुुगोलमा भ्रमण गरुन भन्ने जिम्मेवारी दिएर पठाएको हो । त्यसमा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु चुक्नु हुदैन ।’ 

उनले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको यती धेरै संघीय राजधानीको भ्रमणले जनतामा नराम्रो सन्देश दिएको बताए ।