Skip to main content

रेशम र रञ्जीताबीच सरकारमा जाने नजाने विषयमा तीब्र मतभेद, के उन्मुक्ति विभाजन होला ?

Submitted by editor on
रेशम पक्षका दुुई जना प्रदेश सभा सदस्यले शुक्रबार राती मन्त्री र एकजनाले राज्यमन्त्रीको सपथ खाएका छन भने रञ्जीताको नजिक मानिएका कैलाश चौधरीलाई खाईपाई आएको राज्यमन्त्रीबाट पनि हटाईएको छ ।
शिवराज भट्ट
रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी

धनगढी : टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी बीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुुगेको छ । पार्टी अध्यक्ष रञ्जीताले मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिनु भनि निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराती ३ जनालाई शाहकै सरकारमा सपथ खुवाएका छन । 

रेशम पक्षका दुुई जना प्रदेश सभा सदस्यले शुक्रबार राती मन्त्री र एकजनाले राज्यमन्त्रीको सपथ खाएका छन भने रञ्जीताको नजिक मानिएका कैलाश चौधरीलाई खाईपाई आएको राज्यमन्त्रीबाट पनि हटाईएको छ । 

अझ पार्टीमा सिनियर मानिएका लक्ष्मण किशोर चौधरीलाई पनि कुनै मन्त्रालय दिईएन । लक्ष्मण किशोर नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका पूर्व नेता पनि हुन । अहिले पद नपाएका तीन प्रदेश सभा सदस्य मध्ये लक्ष्मण किशोर र कैलाश चौधरी काठमाण्डौंमा छन भने टीका थापा भारतमा रहेको बताईएको छ । स्रोत भन्छ, ‘लक्ष्मण किशोर र कैलाश दुुबै जना रञ्जीताका विश्वास पात्र हुन ।’ 

रेशम चौधरी केन्द्रमा प्रतिपक्षमा बस्ने र प्रदेशमा कमल बहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत राख्ने पक्षमा र रञ्जीता श्रेष्ठ चौधरी नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा रहेकाले दुुबैबीचको अन्तरविरोध उत्कर्षमा पुुगेको हो ।

रेशम र रञ्जीता पतिपत्नी हुन । रेशमका दुुई पत्नी मध्ये रञ्जीता जेठी पत्नी हुन । ९ जनाको ज्यान जाने गरि भएको टीकापुर घटना पछि रेशम जेलमै भएका बेला नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो । सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य छन । सरकार बनाउनका लागि उन्मुक्ति निर्णयक शक्ति हो । 

जेलमा भएकाले अध्यक्ष बस्न नपाउने भएपछि त्यतीबेला रेशमले श्रीमती रञ्जीतालाई पार्टीको अध्यक्ष बनाएर आफु संरक्षक बसे । उनलाई राष्ट्रपती रामचन्द्र पौडेलले गणतन्त्र दिवशका अवसरमा माफि मिनाहा दियो र रेशम जेलमुक्त भए । त्यसपछि उनले २०८० सालको पुस २६ गते टीकापुरमा पार्टीको भब्य महाधिवेशन गरे । 

प्रधानमन्त्री पुुष्पकमल दाहाललाई प्रमुख अथिति बनाउने गरि आयोजना गरिएको महाधिवेशनमा दाहाल कार्यब्यस्तता भन्दै आएनन भने रेशमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशिष्ठ अथिति बनाए । 

महाधिवेशनको निर्वाचन प्रकृयामा रेशमले अध्यक्षमा एकल उमेदवारी हाल्ने भनेपछि रञ्जीता त्यही दिन महाधिवेशन छोडेर गएको कुराले चर्चा पाएको थियो । रेशम निर्विरोध अध्यक्ष भए भने रञ्जीता रिसाएर महाधिवेशन छोडेर गएको चर्चा पछि उनले रञ्जीतालाई सह अध्यक्ष मनोनित गरे । तर निर्वाचन आयोगले विहीबार रेशमको अध्यक्ष पद र महाधिवेशन नै अवैध भन्दै रञ्जीता श्रेष्ठ चौधरी अध्यक्षताको पुरानो कार्यसमितिलाई नै मान्यता दिएको छ । त्यसपछि रेशम अहिले पार्टीको अध्यक्षबाट संरक्षकको भूमीकामा पुुगेका छन । 

निर्वाचन आयोगको निर्णयपछि पार्टी अध्यक्षको भूमीकामा पुुगेकी रञ्जीता श्रेष्ठ चौधरीले शुक्रबार सरकारमा जाने बारेमा कुनै सरसल्लाह नगरिएको बताईन । ‘म पार्टीको अध्यक्ष हुँ, मसँग कुनै सरसल्लाह नै नगरिकन प्रदेश सरकारमा मन्त्री थपिएछन । मैले संसदीय दलको नेतालाई सरकारको समर्थन फिर्ता दिन र सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउन निर्देशन गरिसकेको छु’ अध्यक्ष रञ्जीताले भनिन ।
उनले पार्टीको ह्विप नमान्नेलाई कारवाही हुने बताईन । ‘दलिय ब्यवस्थामा पार्टीको ह्विप नमान्नेलाई कानूनतह कारवाही हुन्छ । त्यस अवस्थामा पुुग्न नपरोस भन्ने नै हो’ उनले भनिन । उनले नागरिक उन्मुक्ति पार्टी नयाँ सत्ता गठबन्धनमै रहेको बताईन । ‘विहीबारको सदनमा हामी सत्ता पक्षमै बस्यौं नी’ उनले भनिन । ‘यो भनेको नयाँ सत्ता गठबन्धनलाई समर्थन गरेको होईन ?’

रेशमलाल चौधरी विहीबार बेलुकी नै धनगढी पुुगेका थिए । विहीबार बेलुकी ६ बजे रुबस होटलमा उनले पत्रकार सम्मेलन राखेका थिए तर लगत्तै निर्वाचन आयोगले उनलाई अध्यक्षको मान्यता नदिएको निर्णय आएपछि उनले पत्रकार सम्मेलन नै स्थगित गराएका थिए ।

शुुक्रबार रेशम चौधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर समर्थन यथावत राख्ने र राप्रपाको समर्थन माग्न सुुझाएको स्रोतले बतायो । रेशमले, आफ्नो पार्टीका तीन जनालाई मन्त्री बनाई हाले उनीहरु पनि यताउता नहुने भन्दै मुुख्यमन्त्री शाहलाई शुक्रबार नै सपथ दिलाउन आग्रह गरेको पनि स्रोत बताउछ । 

मुख्यमन्त्री कमल बहादुर शाहसँग काँग्रेसका १८, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी २६ जनाको समर्थन कायमै रहेको छ । राप्रपाले समर्थन गरे मुख्यमन्त्री शाहलाई बहुमत पुुग्छ । 

माओवादी र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन । तर उनले नागरिक उन्मुक्ति, स्वतन्त्र र राप्रपाका प्रदेश सभा सदस्यलाई जस्तो सुकै पनि अफर गरिरहेका छन । श्रोत भन्छ, ‘मुख्यमन्त्री शाह नेतृत्व छोडेर पनि गठबन्धन जोगाउने कसरतमा लागेका छन ।’ त्यसको संकेत उनले माओवादीका मन्त्री हटाएका दिन पनि गरेका थिए । 

राप्रपा र स्वतन्त्र सांसदलाई बोलाएर मुख्यमन्त्री शाहले मन्त्रीको सपथ लिई हाल्न अनुरोध गरिरहेका छन । शाह नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय तोडेर पनि नागरिक उन्मुक्तिका बढी भन्दा बढीलाई मन्त्री बनाउने जुक्ति निकालेको स्रोतले बतायो । 

नयाँ सत्ता गठबन्धन सँग अहिले माओवादीका ११, एमालेका १० र समाजवादीका ४ गरी २५ जनाको बहुमत छ । नयाँ गठबन्धनले स्वतन्त्र सांसद डाक्टर तारादत्त जोशी पनि पूर्व एमाले भएकाले समर्थन गर्ने र नागरिक उन्मुक्ति २ जना आउने भएपछि २८ प्रदेश सभाको बहुमत हुने आँकलन गरिरहेको छ ।