Skip to main content

बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
चट्याङ

बझाङ  ः बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको मृत्यु र ७ जना घाइते भएका हुन् ।

जयपृथ्वी नगरपालिका ६ का वडाअध्यक्ष नरेन्द्रबहादुर सिंहका अनुसार मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंह रहेका छन् । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन् ।

यस्तै सोही ठाउँका धनबहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी, उनकै छोरा ९ वर्षीय नितेश र छोरी १३ वर्षीया लक्ष्मी पनि घाइते छन् । घाइते सबैको हातखुट्टाहरुमा चोट लागेको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । 

घाइतेहरुमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको चौधरीले बताए । मृतकको शव पनि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।