Skip to main content

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको गणना सुरु

Submitted by editor on
रासस
बाह्रसिंगाको गणना

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिंगाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।

‘हेड काउन्ट’ र ‘ट्रान्जिट लाइन’ गरी दुई विधिबाट अनुगमन तथा गणना भइरहेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए । उनका अनुसार निकुञ्जमा एक दशक अघिदेखि वन्यजन्तु सप्ताहको अवसर पारेर बाह्रसिंगाको गणना हुँदै आएको छ । 

‘पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य हुन्छ’ ऐरले भने । ‘पहिलोपटक ड्रोन उडाएर बाह्रसिंगाको अनुगमन गरिरहेका छौँ ।’ हेडकाउन्टका लागि प्रत्यक्ष रुपमा अवलोकन तथा वाइनाकुलर र टेलिस्कोपको प्रयोग गरी अनुगमन भइरहेको उनको भनाइ छ । ‘एक÷दुई दिनको फरकमा पाँचदेखि सातपटक अनुगमन गर्छौं’ उनले भन । ‘हेड काउन्टको काम पनि त्यति नै पटक हुन्छ ।’

बाह्रसिंगाकोे अनुगमनका लागि शुक्लाफाँटा, करैया, लालपानी, भतपुरी फाँटा छनौट गरिएको छ । योसँगै घाँसेमैदान रहेको फायरलाइनहरुमा पनि अनुगमन हुने निकुञ्जका सूचना अधिकारी ऐरले बताए । बाह्रसिंगाको सबैभन्दा ठूलो झुण्डको बासस्थान निकुञ्जको शुक्लाफाँट घाँसेमैदानमा रहेको छ । उक्त मैदान ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उनले जानकारी दिए । 

सो मैदानमा एक हजार पाँच सय बढी बाह्रसिंगाको झुण्ड एकै ठाउँमा रहेको ऐरले बताए । उनका अनुसार ट्रान्जिट लाइन विधिबाट अनुगमनका लागि जेडएसएल नामक संस्थाले सहयोग गरिरहेको छ ।

‘ड्रोन उडाएर अनुगमन गर्दा सबैभन्दा पहिला बाह्रसिंगाको तस्बिर लिने काम हुन्छ । कम्प्युटरको माध्यमबाट तस्बिरमा भएको संख्या यकिन गरिन्छ’ सूचना अधिकारी ऐरले भने । ‘त्यसपछि पोथी, भाले, वयस्क, बच्चा कति छन् भनेर विवरण तयार गरिन्छ ।’ बासस्थान सुधारका लागि प्रत्येक वर्ष घाँसेमैदान व्यवस्थापनको कार्य हुँदै आएकाले बाह्रसिंगाको अवस्था सन्तोषजक रहेको उनको भनाइ छ ।

ऐरका अनुसार सन् २०२२ मा गरिएको अनुगमनमा निकुञ्जमा दुई हजार तीन सय १३ बाह्रसिंगाको थिए । ‘भालेको तुलनामा पोथिको संख्या बढी, बुढोभन्दा वयस्क र बच्चाको संख्या अधिक भए राम्रो मानिन्छ’ उनले भने । ‘यस वर्षको अनुगमनमा त्यसबारे पनि अध्ययन र अनुसन्धानमा जोड दिएका छौँ।’