Skip to main content

रञ्जीताको दलको नेता परिवर्तन बारे सभामुख भन्छन, ‘प्रदेश सभाले संसदीय दललाई मात्र चिन्छ’

Submitted by editor on
शिवराज भट्ट
भीम बहादुर भण्डारी

धनगढी  ः एक महिनादेखि चरम किचलोमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सत्ता राजनीतिमा सोमबारबाट थप अर्को विवाद थपिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको प्रदेश संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएर आफू पक्षीय अर्का प्रदेश सभा सदस्य कैलाश चौधरीलाई दलको नेता तोकेपछि विवाद सिर्जना भएको हो । 

पार्टी अध्यक्ष श्रेष्ठले चैत २५ गतेको केन्द्रीय समितिको बैठकको निर्णय भन्दै दलको नेताबाट घनश्यामलाई हटाएर कैलाश चौधरीलाई बनाएपछि अझ विवाद चुलिएको हो । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले दलको नेता परिवर्तनको भएको पत्र प्राप्त भए पनि हालसम्म नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता घनश्याम चौधरी नै रहेको प्रतिक्रिया दिएका छन । 

उनले भने, ‘प्रदेश सभाले संसदीय दललाई चिन्ने हो, नागरिक उन्मुक्ति संसदीय दलबाट नेता परिवर्तनका लागि उन्मुक्ति पार्टीको पत्र आएको छ । तर ऐन नियम अनुसार प्रदेश सभाले पार्टीको निर्णय भन्दा पनि दलको निर्णयलाई मात्र चिन्छ, हामीले आएको पत्र त राखेका छौं, त्यसका कारवाही केही भएको छैन ।’

संसदीय दलको नेताबाट हटाइएका घनश्याम प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत हुन् । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गरिरहेको नागरिक उन्मुक्तिले संसदीय दलको नेता परिवर्तन गर्नु संयोग मात्र बनेको छैन, केन्द्रमा नयाँ सत्ता समीकरण बनेदेखि नै नागरिक उन्मुक्तिमा विवादहरू झन्झन् बल्झिँदै गएका छन् ।

केन्द्रीय सदस्यहरूको बैठकमा आपसमै हात हालाहालको अवस्था सिर्जना भएको छ । दुई वटा प्रदेशका अध्यक्ष बर्खास्त गरिएका छन् । सोमबार राज्यमन्त्रीसमेत रहेकी प्रदेश सभा सदस्य इन्द्र गिरी पदमुक्त भएकी छन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिइसकेका छन् । प्रदेश प्रमुखबाट संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न आगामी वैशाख २ गते साँझ ५ बजेसम्मको समय तोकिएको छ ।