धनगढीः धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका विद्यालयका शिक्षकहरूलाई तालिन दिन सुरु गरेको छ । सोमवारबाट शिक्षकहरूको पाँच दिने तालिम सुरू भएको हो ।
काठमाडौं विश्वविद्यालयको ट्रेनिङ अफ स्कुलले धनगढीका ८७ जना शिक्षक–शिक्षिकाहरूलाई तालिम दिनेछ । डाक्टर पार्वती ढुङ्गानाको संयोजकत्वमा आएको चार जनाको विज्ञ टोलीले शिक्षकहरूको पेशागत क्षमता बढाउन तालिम दिनेछन् ।
पाँच दिनसम्म हुने तालिममा शिक्षण सिकाइ क्रियाकलाप, शैक्षिक सामग्री निर्माण र अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी तालिम प्रदान गरिने नगर प्रमुखको सचिवालय प्रमुख कृपाराम उपाध्यायले बताए ।
पाँच दिन चल्ने तालिममा पाँच वटा नमुना विद्यालयका शिक्षक–शिक्षिकाका साथै अन्य विद्यालयका बालविकास सहजकर्ताहरूको पनि सहभागिता रहेको छ ।
पाँच दिने तालिममा सहभागी शिक्षक–शिक्षिकाहरूलाई तीन समूहमा विभाजन गरेर प्रशिक्षण दिने काम भइरहेको सचिवालय प्रमुख उपाध्यायले बताए । बालविकासदेखि कक्षा ३ सम्मको एउटा समूह, कक्षा ४देखि ७ सम्मा अर्को र कक्षा ८ देखि १२ सम्मको तेस्रो समूह निर्माण गरेर प्रशिक्षण दिने काम भइरहेको उपाध्यायले बताए ।
तालिम पश्चात् प्रभावकारी ढङ्गले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न, स्थानीय स्रोत साधनवाट शैक्षिक सामग्री निर्माण गर्न र अङ्ग्रेजी विषय शिक्षण गर्न शिक्षकहरूलाई थप सीप र क्षमता हासिल हुने विश्वास गरिएको छ ।