धनगढी : भारतीय प्रहरीले पछिल्लो एक महिनाको अवधीमा नेपालमा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ब्राउन सुगरका तीन जना कारोबारी पक्राउ गरेको छ ।
भारतको पलिया प्रहरीले मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने अंकित माल्या (२५ वर्ष) र सिगहिया कस्बामा डेरा गरि बस्ने विक्की नेपाली भनिने बिक्की गुप्ता (३२ वर्ष) लाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरएको भारतीय प्रहरीले जनाएको छ । ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।
पलिया थानाका ईञ्चार्ज विवेक कुमार उपाध्यायको नेतृत्वमा, उपनिरिक्षक तथा पलिया कस्बा प्रभारी उदयबीर यादव, कबच सर्विलेन्स सेलका उपनिरिक्षक प्रसान्त श्रीवास्तव, जवानहरु ललित कुमार, परिक्षीत सैनी, संदीप चौधरी र पवन यादब सहितको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै चैत ८ गते भारतको गौरीफन्टा प्रहरीले बनगवा बजारबाट सन्नी गुप्ता, सचिन गुप्ता र नेपाली ग्राहक अत्तरियाका सुशील श्रेष्ठलाई १० ग्राम ब्राउन सुगर, विभिन्न प्रतिवन्धित औषधी सहित पक्राउ गरेको थियो ।
सन्नी, अंकित र विक्की गरी तीनै जना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका लागुपदार्थ कारोबारी हुन । ईविगुल डटकमले विक्की नेपाली भनिने विक्की गुप्ता र सन्नी गुप्ताको तस्बिर सहितका सीमापारीका कारोबारीहरुको पुस २४ गते रिपोर्ट प्रकाशित गरेको थियो ।
‘तीनै जना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा छन । हामीले भारतको निर्वाचन केन्द्रित दुई देशका अधिकारीहरुको बैठकमा यो कुरा प्रार्थमिकताका साथ उठाएका थियौं, भारतीय समकक्षीहरु एक्सनमा गएछन, राम्रो काम गरे’ कैलालीका प्रहरी उपरिक्षक पदम बहादुर विष्टले भने ।
नेपाल प्रहरीका मोष्टवान्डेड भारतीय लागुऔषध कारोबारीहरु
विक्की नेपाली भनिने विक्की गुप्ता लामो समयदेखि धनगढीमा बसेर ब्राउन सुगरको कारोबार गर्दै आएका थिए । उनले कैलाली कारागारमा ब्राउन सुगरको ‘रकेट’ चलाएको खुलेपछि उनको नेपाल प्रहरीले खोजि गरेको थियो ।
उनले कारागारमा रहेका कैदीबन्दीका आफन्तहरुसँग चिनजान गरेर खाना पुगाउन जाने बेला खानाभीत्र ब्राउनसुगर पठाएर कारोबार गरिरहेका थिए । २०८० सालको असारको महिना धनगढीकी कमला देबी अवस्थीको साथबाट बरामद भएको ब्राउन सुुगर यीनै विक्की गुप्ताले विस्कुट भीत्र पठाएको खुलेको थियो ।
कमला, ब्राउन सुुगरकै कारोबारमा पक्राउ परेका छोरा र बुहारीलाई खाना पुगाउन कैलाली कारागार जाने बेला गेटमा चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको थियो ।
उक्त ब्राउन सुगर पनि विक्की नेपाली भनिने विक्की गुप्ताले पठाएको खुलेको थियो । प्रहरीले त्यही दिन देखि नै उनको खोजी सुरु गरेको थियो । लामो समयसम्म नेपालमै बसेर कारोबार गरिरहेका गुप्ता नेपाल प्रहरीले खोज्न थालेपछि उनी भारतको पलियामा डेरा गरी बस्दै आएका थिए । अंकित माल्याको नाम नै भारतमा ‘ड्रग्स किंग’ हो । उनी पलियामा बसेर नेपालका लागि ब्राउन सुगरको कारोबार गर्ने ब्यक्ति हुन ।
नेपालका कञ्चनपुर, कैलाली, बाँके र बर्दिया जिल्ला आसपासमा ब्राउनसुगरको कारोबार गर्ने नेपालीहरु उसकोबाट लागुदार्थ किन्ने गर्छन ।