धनगढी : धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपांगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ । गत वर्ष १८९ जनालाई सहायता सामग्री वितरण गरेको उपमहानगरले यो वर्ष भने २९० जनालाई सामग्री वितरण गर्ने भएको हो ।
नगर क्षेत्रमा बसोबास गर्ने अपांगता भएका व्यक्तिको खोजी गर्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर अपांगता भएका व्यक्तिहरूको पहिचान गरिएको हो । उपमहानगरको वडा नम्बर १८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र फूलबारीमा चैत २१ गते लागेको शिविरमा ६० जनालाई नापजाँच गर्दा ५५ जनालाई अपांगता सामग्री आवश्यक रहेको उपमहानगरले जनाएको छ ।
यस्तै, चैत २९ गते वडा नम्बर १७ को सहरी स्वास्थ्य केन्द्र धुर्जन्नामा लागेको शिविरमा ७० जना, बैशाख ९ गते वडा नम्बर १० को घुइयाँघाट सहरी स्वास्थ्य केन्द्रमा लागेको शिविरमा ४५ जना अपांगता भएका व्यक्ति फेला परेका हुन ।
यसैगरी, वडा नम्बर ११ को घोड्सुवा सहरी स्वास्थ्य केन्द्रमा बैशाख १० गते लागेको शिविरमा ३५ तथा बैशाख १२ गते नगरपालिका परिसरमा लागेको शिविरबाट ८५ जना अपांगता भएका व्यक्ति पत्ता लागेका हुन । स्क्रिनिङ शिविरमा पत्ता लागेका अपांगता भएका व्यक्तिहरूलाई असार १५ भित्र सहायता सामग्री वितरण गरिसक्ने महिला विकास अधिकृत पंकजा जोशीले बताइन् ।
उनले अपांगता भएका व्यक्ति शिविर लागेको ठाउँमा आउन समस्या हुने ठानेर धनगढीको विभिन्न पाँच ठाउँमा शिविर लगाउने गरेको बताइन् । गत वर्ष पनि धनगढीका १७९ जना अपांगता भएका व्यक्तिलाई २०५ किसिमका सहायता सामग्री निःशुल्क वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन् ।
‘गत वर्ष १७९ जनालाई २०५ किसिमका सहायता सामग्री वितरण गरिएको थियो । सहायता सामग्री वितरण गर्न ३२ लाख खर्च भएको थियो । यो वर्ष पनि सहायता सामग्री वितरण गर्न विभिन्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर नापजाँच गरिएको हो’ महिला विकास अधिकृत जोशीले भनिन् ।
यो वर्ष स्वीकृत वार्षिक कार्यक्रममा १८ लाख बजेट विनियोजन गरिएकोमा धनगढीको सर्वाङ्गिण अपाङ्गता विकास समाजले अपांगता सहायता सामग्री वितरण गर्न ९ लाखमा टेण्डर पाएको हो । यो वर्ष शारीरिक अपांगता भएका व्यक्तिहरूलाई ह्विलचेयर, बैसाखीसहित चस्मा तथा कान नसुन्ने व्यक्तिलाई समेत सहायता सामग्री प्रदान गरिने भएको छ ।
बजेट अपुग भएको अवस्थामा स्क्रिनिङ्ग गरिएका सम्पूर्ण व्यक्तिलाई सहायता सामग्री दिन समस्या नहुने उपमहानगरले जनाएको छ । सबै किसिमका अपांगता भएका व्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने उपमहानगरपालिकाको नीति रहेको महिला विकास अधिकृत जोशीले बताइन् ।