Skip to main content

मुख्यमन्त्री सोडारीले आज पनि विश्वासको मत पाउने सम्भावना न्यून

Submitted by editor on
प्रतिपक्षी काँग्रेसको सदन अवरुद्ध गर्ने तयारी, सत्तापक्षकै एमालेको सल्लाह नै नगरेको आरोप
शिवराज भट्ट
दीर्घ बहादुर सोडारी

धनगढी : चैतको ६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीलाई विश्वासको मत लिनै सकस भएको छ । उनले शुक्रबारका लागि विश्वासको मत लिने भन्दै संसद आह्वान भएको छ । 

काँग्रेसले शुक्रबारको संसद चल्न नदिने धम्की दिईरहेका बेला सत्ता गठबन्धनकै नेकपा एमाले पनि आन्तरिक तयारी नभएको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताएपछि मुख्यमन्त्री सोडारी सकसमा परेका छन । 

केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री अगाडी सारेका समाजवादीका नेता दीर्घ सोडारीलाई अहिले भने आफै मुख्यमन्त्री बन्दा विश्वासको मत लिन सकस भएको हो । आफुलाई मुख्यमन्त्री नबनाएको भन्दै उनी केन्द्रको सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेससँग मिलेर उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन लागेका थिए । 

उनको कदमले केन्द्रको गठबन्धन हल्लिएको थियो । तर केन्द्रीय नेताहरु बीच समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि उनले काँग्रेससँगको समर्थन फिर्ता लिए भने उनी बैशाख ६ गते एमाले, माओवादी, उन्मुक्तिका २ जना र स्वतन्त्र सांसदको सहमर्थनमा मुुख्यमन्त्री बनेका थिए । अहिले उनैलाई विश्वासको मत लिन सकस भएको छ । 

‘हामीले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थियौं, तर त्यहाँ संविधानको उलंघन भयो, अब हामी सदन चल्न दिदैनौं’ काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने । 

सोडारीले विश्वासको मत लिन संसद बोलाई दिन पत्र पठाएपछि सभामुखले शुक्रबार ५ बजेका लागि संसद बोलाएका छन । तर शुक्रबार काँग्रेसको विरोध मात्रै होईन, सत्ता घटक नेकपा एमालेले पनि विश्वासको मत दिन नसकिने जनाएको छ । एमालेले, सरकारमा गए कसको नेतृत्वमा जाने, मन्त्री को पठाउने, बझाङबाट जितेका प्रदेश सभा सदस्यको सपथ भई नसकेका बेला हतारमा विश्वासको मत लिन खोजेको आरोप लगाउदै शुक्रबार विश्वासको मत दिन नसकिने जनाएको हो ।

एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले शुक्रबार विश्वासको मत दिन नसकिने बताए । ‘बझाङमा सत्ता गठबन्धनकै एकजना जित्नुभएको छ । उहाँ किरियामा हुनुहुन्छ । उहाँले सपथ लिएको छैन, अरु तयारी पनि भएको छैन, सरसल्लाह पनि गरिएको छैन, त्यसैले समय धेरै छ, हतार किन गर्नुप¥यो’ रावलले भने ।

एमाले र काँग्रेसको अडानपछि शुक्रबार विहान बस्ने भनिएको कार्यब्यवस्था परामर्ष समितिको बैठक पनि बस्न सकेन । कार्यब्यवस्था परामर्ष समिति ‘मिनि पार्लियामेन्ट’ पनि हो । ‘दलहरुबीचमा सहमति भएको छैन, आजको सदन स्थगित हुन्छ होला, केही बेरमा सूचना आउछ’ संसद सचिवालयका एकजना अधिकृतले भने ।

सोडारीको नाम मुख्यमन्त्रीमा आउने वित्तिकै एमाले बिच्किएको थियो । एमालेले मुख्यमन्त्रीको पात्र ठिक नभएको अडान राख्दै अन्तिम समयमा मात्र सोडारीलाई समर्थन गरेको थियो । एमालेले त्यतीबेला, सरकारमा नजाने तर समर्थन मात्रै गर्ने निर्णय गरिसकेको छ । 

सोडारीले दुुई हप्ता भन्दा बढी समय हुँदा पनि सरकार विस्तार गर्न सकेका छैनन । मुख्यमन्त्री बाहेक नागरिक उन्मुक्तिका २ जना मात्रै सरकारमा छन । माओवादी सरकारमा गएको छैन । एमालेले पनि विश्वासको मतका बारेमा आनाकानी गरेपछि मुख्यमन्त्री सोडारी सकसमा परेका छन ।