धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गाउँमा रहेको सड्वाबाबा तालको अतिक्रमित क्षेत्र खाली गराउने कार्य सुरु भएको छ । प्राकृतिक तालको प्रकृतिमा देख्न नसकिने गरि अतिक्रमण गरिएको क्षेत्र उपमहानगरले खाली गराउन लागेको हो ।
सरकारी तथा प्राकृतिक सम्पत्तिमा गिद्देदृष्टि लगाउनेको सिकार सड्वाबाबा ताल बन्न पुगेको थियो । उक्त तालको नामोनिसाना नै मेटिने गरी अतिक्रमण गरेर पक्की भौतिक संरचना निर्माण गरिएको थियो । ती सबै संरचना हटाउने काम सुरु भएको मेयर गोपाल हमालको सचिवालयले जनाएको छ ।
तालभित्रै पक्की संरचना निर्माण गरिएको थियो । तालमै पिल्लर गाडिएकोमा हटाउने काम भइरहेको छ । देवरिया गाउँमै दशकौंदेखि बसोबास गर्नेहरुका अनुसार सड्वाबाबा तालको क्षेत्रफल विगतमा ठूलो थियो ।
तर सो क्षेत्र अतिक्रमणको चपेटामा परेपछि उक्त तालको क्षेत्रफल मात्रै खुम्चिएको छैन की निसान नै मेटिनेगरी पक्की भौतिक संरचना निर्माण गर्न ५६ वटा पिल्लर नै गाडिएको थियो ।
ती सबै पिल्लर उपमहानगरले भत्काएर क्षेत्र खाली गराएको हो । सो ताल वरपरको जग्गामा समेत केही पक्की तथा कच्ची संरचना निर्माण गरिएकामा उपमहानगरले खाली गराउन लागेको छ ।
उक्त जग्गा अतिक्रमण गर्ने र आफू अनुकुल विक्रि गरेको पनि यसअघि फेला परेको थियो । धनगढीमा डुबानको समस्या बढ्नुको एक मुख्य कारण नाला, नदी तथा तालहरु अतिक्रमण हुनु हो ।
खोला नालासँगै ताल तथा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने नीति अपनाएको उपमहानगरले लिएको छ । धनगढीको देवरिया गाउँमा रहेको सड्वाबाबा ताल मात्रै नभएर अन्य अधिकांश तालहरु केही व्यक्तिको कब्जामा छन् । ती तालको अतिक्रमण हटाउने गरि उपमहानगरले काम गर्दै आएको छ ।