Skip to main content

साढे १३ लाख क्षतीपूर्ती दिने सहमति पछि नसिवका आफन्तले बुझे शव

Submitted by editor on
पिडित परिवारलाई क्षतीपूर्ती स्वरुप साढे १३ लाखको चेक दिईएको छ । घाईते भएका आफन्तहरुको उपचार अस्पतालले गर्ने र पोष्टमार्टम गरेर घरसम्म शव पुगाउने सहमति भएको छ ।
शिवराज भट्ट
नसिव चौधरी

धनगढी : धनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिव चौधरीका परिवारलाई साढे १३ लाख क्षतीपुर्ती दिने सहमति पछि आफन्तले शव बुझेका छन । नोभा अस्पताल प्रशासन र पिडितका आफन्तका बीच शनिबार बेलुकी यस्तो सहमति भएको हो ।

‘पिडित परिवारलाई क्षतीपूर्ती स्वरुप साढे १३ लाखको चेक दिईएको छ । प्रहरीसँगको झडपमा घाईते भएका आफन्तहरुको उपचार अस्पतालले गर्ने सहमति भएको छ । पोष्टमार्टम गरेर घरसम्म शव पुगाउन पनि अस्पतालले सहयोग गर्ने सहमति भएको छ’ मृतकका मामा फुलाराम चौधरीले भने ।

सहमति पछि नोभा अस्पतालको वार्डमा दुई दिनदेखि राखिएको नसिवको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल लगिएको छ । ‘अहिले पोष्टमार्टम भईरहेको छ, सहमति पछि आन्दोलनका कार्यक्रमहरु सबै स्थगित भएका छन’ फुलारामले भने ।

मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गर्दै शसनबार नोभा अस्पताल परिषरमा प्रदर्शन गरेका थिए । आक्रोसित पिडितका आफन्तहरुले नोभा अस्पतालमा ढुंगामुढा गरि तोडफोड समेत गरेका थिए । 

अस्पताल तोडफोड हुन थालेपछि प्रहरीले ६ राउण्ड अश्रुुग्यास प्रहार थियो भने पिडित पक्षका ३ जना घाईते भएका थिए । प्रहरीको लाठी लागेर बेलौरी नगरपालिका २ का लक्ष्मण बुढाको खट्टुा भाचिएको छ भने उनका छोरा अजय बुढा पनि घाईते भएका छन । उनीहरुको धनगढीकै सारथी अस्पतालमा उपचार भईरहेको छ । 

जन्डीसको विरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका १७ वर्षका नसिब चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरवाही गरेकाले उनीमाथि कारवाहीको माग गर्दै आएका थिए । 

पिडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भईरहेका बेला बाहिर जमा भएका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । शुक्रबार मात्रै पिडितका आफन्तहरुले नोभा अस्पतालको रिसेप्सनमा समेत तोडफोड गरेका थिए । 

 नसिभ चौधरी साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएका थिए ।

उनको जन्डिस बढदै जान थालेपछि अवस्था चिन्ताजनक बन्दै गएको थियो । उनको अवस्था गम्भिर बनेपछि शुक्रबार अस्पतालले रेफर गरेका थियो । रेफर गरेपछि एम्बुलेन्समा राख्नेक्रममा नसिबको मृत्युभएको थियो । नसिब परिवारको एक्लो सन्तान हुन । उनका बुवा कामका लागि मलेसियामा रहेका छन । 

नोभा अस्पतालका सूचना अधिकारी पदमराज भट्टले नसिबको उपचारमा अस्पतालले कुनै कसर बाँकी नराखेको बताए । अस्पतालले शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दै मृतक चौधरीलाई ‘मल्टी अर्गान डाईसफंक्सन सिन्ड्रोम’ अथवा शरिरका सबै अंग कलेजो, मुटु, फोक्सो, मृगौला, पित्तथैली, आन्दा र रगतमा समस्या भएकाले मृत्युभएको जनाएको छ । 

अस्पतालले चौधरीको अस्पताल भर्ना भएको दिन जन्डीसको मात्रा (विलिरुविम) ४ दसमलव ३ देखि बढदै १५ सम्म पुुगेको जनाएको छ । अस्पतालका सूचना अधिकारी भट्टले अस्पतालमा भएको तोडफोडमा झण्डै २० लाखको नोक्सान भएको बताए । अस्पतालको बाहिरि डेकोरेशन, झ्यालका सिसा, रिसेप्शन, फार्मेसी, रिसेप्शनका कम्प्युटर लगायतका सामान तोडफोड भएको उनले बताए ।