Skip to main content

आफ्नै गाउ फर्कि आए, दशैंका लागि घर फर्किदै नेपाली

Submitted by editor on
ईबिगुल संवाददाता
स्वदेश फर्किनेहरुको संख्या बढन थालेको छ

धनगढी : दशैं नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढन थालेको छ । सुदूरपश्चिमका चार वटा नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट भएर नेपालीहरु फर्किन थालेका हुन ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीका सत्यराज शाहीले दश्रै नजिकिएकाले घर फर्किएको बताए । गतवर्षको दशैं मनाएर भारत पसेका उनी, गौरीफन्टा नाका भएर दशैंका लागि घर फर्किएका छन । ‘दशैंमा रमाईलो हुन्छ, बालबच्चा प्रतिक्षामा बसेका हुन्छन, त्यसैले घर फर्केर आए’ शाहीले भने । उनी केरलामा होटलमा वेटरको काम गर्छन ।

डोटीको महादेवस्थानका जंगे भाट पनि झोलीगुन्टा बोकेर गोरीफन्टा नाका भएर बुधबार घर फर्र्किका छन । ‘दशैं मनाउन आएको, ६ महिना भयो भारतमा गएको’ उनले भने । ‘भारतमा चौकीदारीको काम गर्छु । भारतमा दशैंमा विदा पाउछ, तिहारमा बरु पाईदैन, त्यसैले दशैं मनाउन आएको ।’

हिजो (सोमबार) मात्र गड्डाचौकी नाका कञ्चनपुरबाट २ सय ४६, जुलाघाट नाका बैतडीबाट २६ र सबैभन्दा बढी गौरीफन्टा नाका कैलालीबाट ३ सय २६, पुलघाट नाका दार्चुलाबाट ३३ र खकरुला हेल्थ डेस्क ६३ गरेर ६ सय ९४ जना स्वदेश फर्किएका छन् ।

सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्कने गरेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको विवरणमा उल्लेख छ । आइतबार ५५ सय ३३ जना स्वदेश फर्किएका थिए । हिन्दुहरुको महान चाड वडा दशै नजिकिदै गर्दा भारतबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको हो ।