Skip to main content

सुदूरपश्चिम र बाग्मतीका प्रदेश प्रमुखलाई एउटै मञ्चमा सम्मान

Submitted by editor on
ईबिगुल संवाददाता
एउटै मञ्चमा सम्मान

धनगढी : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई हेटौँडामा सम्मान गरिएको छ । मकवानपुर मुस्लिम समुदायले दुई प्रदेश प्रमुखहरूलाई एउटै मञ्चमा सम्मान गरेको हो ।

स्वागत तथा सम्मानपछि बागमती प्रदेश प्रमुख देवकोटाले मकवानपुर  विविधताले भरिएको जिल्ला भएको भन्दै  विभिन्न धर्म, जाति ,लिंग, सम्प्रदायबिचको अद्भुत मेल सुन्दर पक्ष  रहेको बताए । 

‘संकल्प र इमानदारिताले कमी कमजोरी हटाइ उन्नत दिशातिर अघि बढ्न सकिन्छ’ उनले भने ‘इस्लाम धर्मावलम्बी दाजुभाइ, दिदीबहिनीहरू, यहाँको समाज विकास, एकता र सहयोगको लागि मेरो तर्फबाट हुनसक्ने यथाशक्य पहल गर्नेछु ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिमको हक अधिकार तथा पहिचानका लागि काम गर्दै आएको र अझै गर्नु पर्ने रहेको बताएका थिए । संविधानमा मुस्लिमको हक अधिकार को सुनिश्चितता भएपनि ऐन नबनेकाले केही समस्या उत्पन्न भएको बताए ।

‘समानता जब हुन्छ तब मात्र मुस्लिमको समस्या समाधान हुन्छ’ प्रदेश प्रमुख मियाँले भने ।  मुस्लिम समुदायका लागि सरकारले पर्याप्त अधिकार प्रदान गरेको भन्दै उनले अधिकार कार्यान्वयनको विषयमा जोड दिनु पर्ने बताए । ‘हामी आदिवासी हौ आप्रवासी होइनौ’ भन्ने कुरा मुस्लिम समुदायका अगुवाहरूले स्पष्ट पार्नुपर्ने मियाले बताए। 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित जामे मस्जिदमा मकवानपुर मुस्लिम समुदाय मकवानपुरको आयोजनामा कार्यक्रम भएको थियो । 

प्रदेश प्रमुख स्वागत सम्मान कार्यक्रम संयोजक तथा इश्तिहार बागमती प्रदेश समिति अध्यक्ष मोहम्मद समिमको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली,जामे मस्जिदका संस्थापक अध्यक्ष  हाजी रुद्र ढकाल, जनप्रिय मावि प्राविधिक विभागका संयोजक मोतिउर रहमानलगायतको उपस्थिति रहेको थियो ।