Skip to main content

कडाइका साथ बजार अनुगमन गर्न मातहतका निकायलाई उद्योग मन्त्रीको निर्देशन

Submitted by editor on
ईबिगुल संवाददाता
दामोदर भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्ने बताउँदै मातहतका निकायलाई  कडाइका साथ प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिएका  छन् ।

मन्त्री भण्डारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै बोलाएर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिएका हुन् । ‘बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महङ्गी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ,’ मन्त्री भण्डारीले भने । 

उनले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने बताए । यस्तै, मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसल सर्वसुलभ बनाउन निर्देशन दिएका छन् ।

वाणिज्य मन्त्रालय मातहतका उक्त व्यापारिक संस्थालाई उपभोक्तामुखी भएर अत्यावश्यक दैनिक उपभोग्य सामानको मौज्दात बढाउन मन्त्री भण्डारीले दुबै निकायका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका हुन् । उनले भने, ‘उपभोक्ताले सर्वसुलभरुपमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु पाउनुप¥यो, सुपथ मूल्य पसल व्यवस्थित बनाउनुहोला, पसल थप सञ्चालन गर्नुपर्ने भए त्यो पनि गर्नुस्, न्यूनतम मौज्दात कायम जुनसुकै हालतमा पनि हुनुपर्छ, मन्त्रालयले के सहयोग गर्नुपर्छ जानकारी गराउनूस् ।’

साथै मन्त्री भण्डारीले नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टलाई एलपी ग्यासको आवश्यक मौज्दात बढाउन निर्देशन समेत दिएका छन्।